Logo

कामकुरो एकातिर, गृहमन्त्रीको ध्यान ‘ध्यान’ तिर



काठमाडौं, १९ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको नख्खु कारागारका कैदीबन्दीलाई दिइएको विपश्यना ध्यान शिविरको समापन कार्यक्रममा सहभागी भएका छन् । उक्त विपश्यना ध्यान शिविरमा कारागारका ४५ जना कैदीबन्दी सहभागी थिए । उक्त कार्यक्रममा सहभागी भएका गृहमन्त्री श्रेष्ठले समाजमा नकरात्मकता बढेको भन्दै चिन्ता ब्यक्त गरे ।

गृहमन्त्री श्रेष्ठ ध्यान शिविरमा सहभागी भएको यो पहिलो पटक भने होईन । उनले सिंहदरबारमा पनि कार्यलय समयभन्दा पहिला सबै कर्मचारीलाई ध्यान गर्न उर्दी जारी गरेका थिए । साथै, उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा समेत एक दिवसीय ध्यान प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए ।

ध्यानमार्फत व्यक्ति पूर्ण जागृत अवस्थामा पुग्ने र व्यक्तिको कार्यक्षमता पनि अभिवृद्धि हुने उनले दाबी गर्दै आएका छन् । ध्यान शिविरमा सहभागी हुँदा उनले दैनिक योगाभ्यास तथा ध्यानको प्रयोगबाट तनावमुक्त जीवनयापन, गहिरो शान्ति, सत्चरित्रवान् र ऊर्जावान् बन्न प्रेरित तथा परिणाममुखी काम गर्न सकिने बताउँदै आएका छन् ।

पछिल्लो समय देशको शान्ति सुरक्षामाथि प्रश्न उठिरहेको छ । मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसान, कवाड ब्यवसायी, सहकारी पीडितलगायत सडक संघर्षमा छन् । लघुवित्त पीडितहरुले त देशको सुरक्षा संयन्त्रलाई चुनौति दिँदै संसद् भवन परिसर प्रवेश गरे । प्रहरी प्रशासन र आम नागरिक बीचको दुरी बढ्दो छ । सानो–सानो घटनामा पनि प्रहरी प्रशासनले संयमता गुमाएर गोली चलाइरहेको छ । यस्तो अवस्थामा देशको शान्ति सुरक्षा चुस्तदुरुस्त पारेर जनतालाई शान्ति र अमनचयनको प्रत्याभूति गराउने जिम्मेवारी पाएका गृहमन्त्रीको ध्यान भने ‘ध्यान’ तिरै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot