Logo

ओलीसँग प्रचण्डको हिमचिम बढेपछि माधव नेपाल बेचैन, झलनाथ खनाल उत्साही



काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको भविष्य नै संकटमा पार्नेगरि राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलले उम्मेद्वारी दिने निर्णय गराए ।

माओवादीको स्थायी कमिटीको बैठकले नै यस्तो निर्णय लिएपछि एमाले नेतृत्व भने उत्साही देखिएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरु भने अत्तालिएका छन् । अहिले कांग्रेस नेताहरुले नै वर्तमान गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरिरहेका छन् । सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले नै सत्ता गठबन्धनको स्थायित्वको बारेमा दाबी गरिरहेका छन् ।

कांग्रेसको महासमिति बैठकमा भएका छलफल र गत माघ ११ गते भएको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको असहयोगका कारण आफ्नो उम्मेद्वार पराजित भएपछि प्रधानमन्त्री प्रचण्ड बिच्किएका हुन् । उनले यो बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरेका छन् ।

ओलीले सत्ता–सहकार्यको लागि नै प्रस्ताव गरेपछि दाहालले अहिलेको गठबन्धनलाई भन्दा एमालेलाई बढि प्राथमिकतामा राखेका छन् । एमालेसँग सत्ता–सहकार्यमा नवीन समझदारी बने आफ्नो सत्ताको आयुपनि बढ्नसक्ने दाहालको दाउ छ । त्यहीभएर अहिले उनले एमालेसहित वामपन्थी एकताको लागि समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ लाई कान भरेर सक्रिय बनाएको चर्चा छ ।

विप्लवले मोर्चाको संयोजक बनेलगत्तै एमालेसहितका कम्युनिष्ट पार्टीलाई मोर्चामा सामेल बनाउनको लागि पत्राचार गरिने बताएका थिए । अहिले उनको सक्रियता पनि त्यहीअनुसार छ । हिजो साँझमात्रै उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन् ।

हिजै बिहान नेता खनालसहित विप्लवले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटेर लामो भलाकुसारी गरेका थिए । कतिपयले प्रधानमन्त्री प्रचण्डले एमालेसँग सम्वाद गरेर कांग्रेससँग बार्गेनिङ गरेको पनि भनिरहेका छन् । कतिपयले भने टिआरसी टुँगो लगाउने प्रचण्डको यो चाल भएको भनेका छन् । आजमात्रै पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग एक घण्टा लामो एक्लाएक्लै भेटवार्ता गरे । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवापनि बालुवाटार छिरेका थिए ।

दाहालसँग देउवाको करिब ४० मिनेट भेटवार्ता भएको बताईएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले टिआरसी टुँगो लगाउन छलफल भएको दाबी गरेपनि अन्तर्यमा भने सत्ता गठबन्धन जोगाउने र भत्काउनको लागि नै देउवा र ओलीको दौडधुप हो भनेर बुझ्न कठिन छैन् । अहिले वामपन्थीहरुबीच एकता हुनुपर्ने आवाज उठ्न थालेको छ ।

कतिपय एमाले नेताहरुले भने यसलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । कतिपयले भने अहिले नै कम्युनिष्टहरुले नसोच्ने हो भोलिका दिन कम्युनिष्टहरुको लागि सहज नहुने भनेर एकताको लागि झक्झकाउने पनि गरेका छन् । ओलीसँग प्रधानमन्त्री प्रचण्डले हिमचिम बढाएपछि सत्ता गठबन्धनको अर्को मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भने दुःखी बनेका छन् ।

उनमा कतै प्रचण्ड र ओली मिल्ने हुन् कि भन्ने भय देखिएको भनेर पार्टी पँक्तिमा चर्चा हुन थालेको छ । एमाले अध्यक्ष ओली कुनैपनि हालतमा माधव नेपाललाई अहिलेको अवस्थामा प्रधानमन्त्री भएको हेर्न चाहँदैनन् । उनले पार्टी नै नभएको स्वतन्त्र सांसद कसरी प्रधानमन्त्री बन्छु भनेर भनिरहेको छ ? भन्दै माधव नेपाललक्षित कडा टिप्पणी गर्ने गरेका छन् ।

कांग्रेससहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको दुई वर्ष पुगेपछि माधव नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । यसैलाई लक्षित गरेर ओलीले यस्तो टिप्पणी गरेको हुनुपर्छ । ओलीले अहिलेको गठबन्धन भत्काउनको लागि हदैसम्मको लचकता प्रस्तुत गरेका छन् ।

उनी प्रचण्डसँग सहकार्यको लागि जस्तोसुकै त्याग गर्नपनि तयार रहेको बुझिएको छ । ओली र दाहालबीच सहकार्यका लागि छलफल हुँदा झलनाथ खनाल भने खुशी र उत्साही छन् । उनी वामपन्थीहरु मिल्नुपर्ने पक्षमा छन् । र, आफूलाई त्यहीअनुसार सक्रिय बनाएका छन् । तर, माधव नेपाल भने ओली र प्रचण्डको भेटवार्ताको कारण बेचैन बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot