Logo

मादी नदीमा पुल निर्माण सुरु



डुम्रे (तनहुँ), २३ फागुन । दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ ।

उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम÷एस इन्दे्रणी निर्माण सेवा प्रालिका सञ्चालक बलबहादुर रानामगरले जानकारी दिए । नदीको बहाव कम भएको अवस्थामा नै काम गरिरहेको उनले बताए ।

उनले भने, “फाउन्डेसन र सबस्ट्रक्चर, डेक स्लाप, रोड एसेस र नदी संरक्षणसहितको काम गर्नेछौँ । यही हाम्रो मुख्य काम हो । विकाससँगै नदी संरक्षण हाम्रो दायित्व हो । सोही अनुसार काम गरिरहेका छौँ ।” पुल समयमा नै निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको उनले जानकारी दिए ।

लम्बाइ एक सय २५ मिटर र चौडाइ ११ मिटर पुल निर्माण गरिने उनले बताए । विसं २०७९ पुस १४ मा २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता भएको थियो । उक्त पुल निर्माणको काम विसं २०८२ पुस ६ मा सकिने गरी सम्झौता भएको छ ।

साबिक श्याम्घा र क्यामिन गाविसलाई जोड्नका लागि विसं २०५२ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि पैदल यात्रा सहज भए पनि सामग्री ढुवानीमा सकस हुँदै आएको थियो । एउटा गाविसबाट अर्को गाविसमा सामग्री ढुवानी गरेको सकसको अन्त्यका लागि स्थानीयबासी लागिपरेका थिए ।

विसं २०६३ पुस ३ गते कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा बसेको एक सय ९१ जनाको भेलाले मोटरेवल पुलको माग गरेको थियो । उक्त समितिले तत्कालीन सरकारसँग पटक–पटक मोटरेबल पुलको माग तथा प्रस्ताव पेस गर्दै आएको थियो । समितिले विसं २०६३ मा राष्ट्रिय योजना आयोगमा मोटरेबल पुलको मागसहित पुगेको स्थानीय प्रदीप घिमिरेले जानकारी दिए ।

उनका अनुसार तनहुँ टुहुरे–पुसल–कलेस्ती मार्गअन्तर्गत कलेस्ती बजार वरपर मादी नदीमा एक मोटरेबल पुल निर्माण गरिनुपर्नेमा जोड दिइएको थियो । यस क्षेत्रका उपभोक्तालाई सहजरुपमा सामान र मानिस सवारीसाधनबाट वारपार गर्न मोटरेबल पुलको माग गर्ने निर्णय समितिले गरेको थियो । यस निर्णयसहित कृष्णप्रसाद घिमिरे, मायानाथ कोइराला, प्रदीप घिमिरे, वर्तमान वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको टोली योजना आयोगमा मोटरेबल पुलको माग गर्न पुगेका थिए ।

पटक–पटकको माग १७ वर्षपछि बल्ल पूरा हुँदै गएको घिमिरेले बताए । पुल निर्माणपछि यहाँका स्थानीयले सामान ढुवानी र मानिस आवतजावतमा नै सवारीसाधन उपयोग गर्न पाउने भएको उनले बताए । उनले भने, “राष्ट्रपतिकै गृहजिल्ला पनि भयो । उनकै दबाबपछि पुल निर्माणको कामले गति लिएको छ । यहाँका स्थानीयबासी खुसी भएका छन् । यहाँका स्थानीयलाई घुम्ती बाटो दमौली बजार पुग्नुपर्ने बाध्यता हट्नेछ । सवारीसाधन चल्ने मुख्य बाटोमा आइपुग्न हिँड्नुपर्ने बाध्यता हट्ने भएपछि यहाँका स्थानीयको खुसी छन् ।”

पुल निर्माणले व्यास–५ चिन्टुटारका स्थानीय बढी लाभान्वित हुने भएका छन् । यस क्षेत्रमा पुग्न सडक भए पनि पुल नहुँदा घुम्ती बाटो उपयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका स्थानीयले जोखिम मोलेर नै झोलुङ्गे पुलमार्फत दुईपाङ्ग्रे सवारीसाधनमार्फत सामग्री ढुवानी र आवतजावत गर्ने गरेका थिए । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुल निर्माण हुन थालेपछि यहाँका स्थानीयमा खुसी छाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot