गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने कुनै कारण छैनः सांसद कार्की (भिडिओसहित)


काठमाडौं, ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीले गृहमन्त्री रवि लामिछनेले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछानेलाई कांग्रेसले आरोपका लागिमात्रै आरोप लगाएको बताएकी हुन् । समीकरण बदलिनुभन्दा पहिले विरोध नगरेको कांग्रेसले आफ्नो पक्षमा नभएपछि लामिछानेको विरुद्धमा लागेको उनको भनाइ छ ।

‘राजीनामा दिनुपर्ने कुनै कारण छ जस्तो लाग्दैन मलाई । अहिले उहाँलाई यो काण्ड, त्यो काण्ड भन्ने छ । अहिले काम गर्छु भनेर आएको मान्छेलाई राजीनामा भनेर भनिरहेको छ । उ आज मन्त्री भएको मान्छे होईन नि । मन्त्री भएर, शपथ ग्रहण गर्दा सबै जना हुनुहुन्थ्यो नि । आज लगाइरहेको आरोप अस्ति पनि थियो होला,’– उनले भनिन् ।

साथै, आफूमाथि लागेको आरोपमा कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत नदिएर निरन्तर गाली गरिरहेको उनको भनाइ छ । सहकारी प्रकरणमा उनको नाम मुछिनुमा केवल राजनीतिमात्रै भएको उनले बताए । साथै, उनले यहाँ दुधले नुहाएका कोही पनि नरहेको र सबैसँग कुनै न कुनै आरोप रहेको बताईन् ।