काठमाडौं, ७ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य इश्वरीदेवी न्यौपाने सहकारी पीडितले आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने बताएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सूर्यदर्शन सहकारीको बचत हिनामिनामा वर्तमान गृहमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको बताएकी हुन् । उनले गृहमन्त्री लामिछानेले कर्जा लिँदाको कर्जा नम्बर र खाता नम्बर समेत खुलासा गरिन् ।
‘अप्ठ्यारोमा काम लाग्छ भनेर आफ्नो र बच्चाको समेत पेट काटेर १०/२० रुपैयाँ गर्दै जम्मा गरेको पैसा हिनामिना भयो । त्यो हिनामिना गर्नेलाई कारबाही र पीडितको पैसा फिर्ता हुनुपर्छ । त्यो हिनामिना गर्नेमध्येको एक वर्तमान गृहमन्त्रीज्यू रवि लामिछाने हुनुहुन्छ ।’ उनले भनिन्, ‘यो हामीले भनेको होईन । सूर्यदर्शन सहकारी पीडितले उजुरी गरेपछि गठन गरेको विज्ञ टोलीको रिपोर्टको पृष्ठ ७८ मा उल्लेखित कर्जा नम्बर ११६४४५६ खडा गरी खाता नम्बर ४९००७७० मार्फत पेस्की फर्छ्यौट भन्ने विवरणले भनेको हो । रकमको हकमा एक करोड उल्लेख छ ।’
साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री लामिछानेलाई बचाउन संसद्मा झुठ बोलेको भन्दै उनले आपत्ति जनाईन् । उही मुद्दामा दिपेश पुन पक्राउ परेको र लामिछानेलाई गृहमन्त्री दिएको भन्दै उनले आपत्ति जनाईन् ।
Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया