कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार डा परियारलाई


काठमाडौं । ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट अधिकारकर्मी डा विष्णुमाया परियार पुरस्कृत भएकी छन्।

मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार उनलाई १ लाख १० हजार रूपैयाँ राशिबाट पुरस्कृत गरेको हो।

२५ वर्षभन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिएकी डा परियार राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत भइसकेकी छन्।

पुरस्कार ग्रहणपछि उनले यो पुरस्कार एकदमै विशेष रहेको प्रतिक्रिया दिइन्।

‘धेरै अन्तर्राष्ट्रियस्तरका सम्मान पाएँ तर मातृभूमिले दिएको यो पुरस्कार विशेष छ,’ उनले भनिन्, ‘दलित भनेर विभेद गरिन्थ्यो। बुवाले विभेदका विरुद्ध लड्न सिकाउनुभयो। हरेक बुवाले छोरीलाई समानता र स्वतन्त्रता दिए सफलता प्राप्त गर्न सक्नेछन्।’

गोरखामा ५१ वर्षअघि जन्मिएकी डा परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा–७ को पाठ्यक्रममा सङ्लग्न छ।

अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्।

म्यानर कलेजले उनलाई सन् २०१३ मा मानार्थ डी लिट (डक्टर अफ लेटर्स) ले सम्मान गरेको थियो।

डा परियारका दुईवटा कृति प्रकाशित छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा तथा सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न विसं २०७६ मा यो पुरस्कारको स्थापना गरिएको हो।