काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा बंगलादेशको नारायणगंज क्लब र नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे )बीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको क्लब ५–३ गोलले विजयी भएको छ ।
खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आयोजना गरेको हो ।
फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए।
सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो।
मैत्रिपूर्ण खेलकुदका क्रममा आवश्यक मेडिकल सहयोग हिमाल अस्पतालले गरेको थियो । मेडिकल सहयोग उपलब्ध गराउने हिमाल अस्पतालप्रति फोटो पत्रकार समूहले धन्यवाद ज्ञापन गरेको छ ।
तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल













प्रतिक्रिया