म्याद थपका लागि कैलाश सिरोहियालाई अदालत लगियो

अदालत आसपासको सुरक्षा व्यवस्था कडा


काठमाडौं, जेठ ९ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइएको छ ।

अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् ।

अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।

उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो। सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरिसकेका छन् । त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।