स्थानीयको हित विपरित मण्डनदेउपुर नगरपालिकाको एकलौटी दादागिरी, स्थानीयद्धारा विरोध


काठमाडौँ, १८ जेठ । काभ्रेपलान्चोक, मण्डनदेउपुर नगरपालिकाले कुनै छलफल र जानकारी नै नदिई फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट निर्माण गर्ने निर्णय विरुद्ध यूवा समूह, महिला समूह लगायत स्थानीयहरुले त्यसो नगर्न चेतावनी दिएका छन् ।

सुन्दर र हराभरा ऐतिहासिक महादेवस्थान, दनुवार गाउँ, रायोबारी वस्ती फोहोरले कुरुप हुनेमा सबैले चिन्ता व्यक्त गरेका छन् । कसैलाई जानकारी नै नगराई वातावरणीय र प्राविधिक अध्ययननै नगरी निर्माण गर्न लागेकोमा स्थानीयले गुनासो गरेका छन् ।

नगरपालिकाले स्थानीयलाई दीर्घकालीन असर गर्ने फोहोर विसर्जन गर्ने डम्पिङ साइट निर्माणको कार्य अघि बढाउन टेन्डर आव्हान भएपछि मात्रै स्थानीयहरुले थाहा पाएको बताएका छन्।

फोहोरले गाउँ कुरुप हुनुका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर पर्छ । फोहोर संकलन र व्यवस्थापन सरोकारपक्षले गम्भिर रुपमा नलिदाँ मानसिक र शारीरिक समस्या निम्तिनुका साथै झाडापखाला, हैजा, डेंगी लगायतका सरुवा रोग बढाउने प्रवल सम्भावना रहन्छ ।

स्थानीय कृष्ण बहादुर राई भन्नुहुन्छ, “कुहिएको फोहोरमा झिँगा र अन्य किराहरुको वृद्धि र विकास छिटो हुने हुँदा झिँगाले खानालाई दुषित बनाउने र त्यस्तो खाना खाँदा झाडापखाला र हैजा फैलिने सम्भावना रहने भन्दै आफ्नै घर आगनमा अनाधिकृत रुपमा फोहोरको डम्पिङ बनाउन लागेकोमा साह्रै दुखित रहेको बताउनु हुन्छ ।”

“वर्षातमा फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरबाट उत्पन्न हुने ब्याक्टेरियाले सङ्क्रमणजन्य रोगमा वृद्धि हुन मद्दत गर्नुका साथै फोहोरलाई काग, मुसा, कुकुरले बोकेर घर वरपर पुर्याएर छर्ने हुँदा बाटो, सडक घर वरिपरि फोहोर हुनुका साथै सबै गाउँ सङ्क्रमणजन्य रोगको जोखिममा रहने भन्दै यस निर्णय विरुद्ध शसक्त प्रतिकार गर्ने बताउनु हुन्छ” स्थानीय घननाथ नेपाल ।

वन उपभोक्ता समितिका अध्यक्ष दधिलाल नेपाल, “त्यस्तै फोहोरको डम्पिङ निर्माण गर्ने भनिएको स्थान श्री सल्नेनी वगुवा सामुदायिक वन क्षेत्र भित्र रहेकोले यस डम्पिङ निर्माणको कारण वन विनास हुने, भिरालो जमीन र पानीका मुलहरु समेत रहेको स्थान भएको कारण बाढी पहिरोको समेत जोखिम रहेकोे हुन्दा उक्त निर्णय विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेको बताउनु हुन्छ ।”

स्थानीय आमा समूहकी अध्यक्ष लक्ष्मि नेपाल बताउँछिन्, :नगरपालिकाको यस्तो जनता मारा निर्णयको घोर भत्सर्ना गर्दै जुनसुकै मूल्य चुकाउनु परेपनी आन्दोलन गरि निर्माण कार्यमा रोक लगाउने बताउनु हुन्छ ।”

खानेपानीका मुलहरु, खेतीयोग्ज्ञ जमिन र बन्दै गरेको वृहत् खानेपानीको खुल्ला प्रशोधन केन्द्रलाई प्रत्येक्ष असर पर्ने देख्दादेख्दै फोहोरको डम्पिङ बनाउने प्रक्रिया अघि बढाउने नगरपालिकाको निर्णयलाई स्थानीय एकता युवा समुहका कोषाध्यक्ष नवराज नेपालले एक पागलपनाको संज्ञा दिनुभयो ।

नगर कार्यपालिकाबाट जे जस्तो निर्णय भएपनी जनताको ईक्षा विपरीत उक्त फोहोर व्यवस्थापनको डम्पिङ साईट निर्माण कार्य अघि बढाउन नसकिने भन्दै आफू सधै जनताको पक्षमा रहेको सोही वडाका वडा अध्यक्ष सिताराम श्रेष्ठ बताउनु हुन्छ ।

फोहोर व्यवस्थापन जस्तो पेचिलो विषयलाई धेरै हलुका रुपमा लिएको नगरपालिकाले वातावरण प्रभाव मुल्यांकन समेत नगरी सरोकारवाला निकाय, सामुदायिक वन, वन डिभिजन कार्यालय संग समन्वय नगरी वन ऎन विपरीत गरिएको निर्णयको कुनै औचित्य नरहेको भन्दै यस्ता केटाकेटी निर्णयले हाम्रो नगरपालिकाको राजनैतिक र कर्मचारी नेतृत्वको अध्ययनको गहिराई के कति सतही रहेछ भन्ने तथ्यलाई उजागर गरेको स्थानीय युवा बुद्धिजीवी राजेन्द्र नेपाल बताउनु हुन्छ ।

जे जस्तो भएपनी संविधानले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ तर यस्ता अपरिपक्व निर्णयका कारण स्थानीय सरकारहरु धेरै समय आलोचित हुने गरेका छन् ।