डोल्पा शाखाको भवन निर्माणका लागि बजेट पारेपछि शहरी विकास मन्त्री बुढालाई पत्रकार महासंघले दियो धन्यवाद


काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढालाई नेपाल पत्रकार महासंघ डोल्पा शाखाले धन्यबाद पत्र ज्ञापन गरेको छ ।

मन्त्री बुढाले पत्रकार महासंघ डोल्पा शाखाको भवन निर्माणको लागि शहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक विकास कार्यक्रममा ठुलिभेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरि ५० लाख बजेट विनियोजन गरेका थिए ।

मन्त्री बुढाले शहरी विकास मन्त्रालय सम्हाले सँगै पत्रकार महासंघ डोल्पा शाखाले भवन निर्माणको लागि बजेट व्यवस्थापनको लागि पहल गरेको थियो ।

पत्रकार महासंघ डोल्पा शाखाका अध्यक्ष सरोज थापाका अनुसार महासंघको डोल्पा शाखाको कार्यलयको जग्गा भएपनि भवन बनाउने पर्याप्त रकम नभएकोले हाल सम्म भाडामा बस्दै आएको थियो । मन्त्री बुढाले महासंघको मागलाई सम्बोधन गरि भवन निर्माणलाई बजेट विनियोजन गरिदिएपछि महासंघका अध्यक्ष थापाले खुसी व्यक्त गरेका छन् ।

उनले महासंघको आफ्नै भवन होस् भन्ने डोल्पाली पत्रकारको सपना अब पूरा हुने विश्वास व्यक्त गरेका छन् ।