भारतसँगको खुला सिमा हाम्रो लागि अवसर हो : केशव झा


काठमाडौं, १२ असार । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिका महासचिव केशव झाले नेपाल र भारतबीच खुला सिमा हुनु दुवै देशको लागि अवसर भएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध नयाँ दिल्ली र काठमाडौँको नियम कानुनले मात्र नचल्ने भन्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको सुनाए ।

नेपाल भारत खुला सीमा संवाद समूहले वीरगन्जमा आयोजना गरेको ‘खुला सीमा–सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको बताउँदै आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई अझै मजबुद र नयाँ उचाईंमा पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भारतका समाजसेवी महेश अग्रवाल, चन्द्रकिशोर, प्रदेश सदस्य श्याम पटेल, डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्ण् पटेल, रम्भा मिश्र, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक बैद्य, भारतीय महावाणिज्य दूतावासका शशि भुषण, अनिरुद सिंह कल्वारलगायत समाजका अगुवा, बुद्धिजिवी, प्राध्यापक, अधिवक्ता, पत्रकार तथा राजनीतिककर्मीको विशेष उपस्थिति रहेको जनाईएको छ ।