काठमाडौं,४ साउन । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छन् ।
उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन्।
‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’
रानाले आफू समयदेखि समाजसेवामा कार्यरत रहेको र आफ्नो कामको सिलसिलामा संयुक्त राज्य अमेरिका लगायत विश्वका थुप्रै मुलुकको यात्रा पनि गरेको बताएकी छन् । थुनामा रहेका बुवा वा आमासँग कारागार भित्र बाध्यात्मक अवस्थामा रहनु परेका बालबालिकाहरूको शिक्षा र जीवनको सुरक्षाका लागि आफू दुई दशक भन्दा बढी समयदेखि अनवरत कार्यरत रहेको उनको भनाइ छ ।
‘मेरो काम विश्वभर परिचित छ। मैले गरेका कामहरूबाट बालबालिकाको क्षेत्रको नोबेल पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुने अवसर पनि पाएको छु । मैले पाएका पुरस्कारका सबै रकमहरू मैले आफूले गरिरहेको सामाजिक सेवामा नै समर्पण गरेको इतिहास सबैको सामुन्ने नै छ’ उनले भनेकी छन् ।
उनले आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम नगरेको र नगर्ने पनि प्रतिवद्धता जनाएकी छन् ‘उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ’ उनले भनेकी छन् ।





प्रतिक्रिया