२ दिनका लागि एआईजीको सिफारिसमा परेर बढुवा नभएका पोखरेलको रिट दायर गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकमा सिफारिस भएर बढुवा नभएका पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले पोखरेलले दायर गरेको रिट दरपीठ गर्ने प्रसाशनको निर्णय बदर गर्दै रिट दायर गर्न आदेश दिएको हो ।

अघिल्लो सरकारको पालामा २ दिनका लागि एआईजी हुन सिफारिसमा परेका पोखरेल सत्ता समीकरण फेरबदलसँगै छुटेका थिए । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेनिकट रहेका पोखरेललाई एआईजी बनाउन निक्कै जोड गरिएको थियो । तर, सफल हुन सकेन । सिफारिसमा परेर पनि बढुवा हुन नपाएको भन्दै उनी सर्वोच्च पुगेका थिए ।

पोखरेलले एआईजी बढुवा सिफारिस भएर पनि नियुक्ति नपाएको भन्दै गत साउन ६ गते सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।

त्यसपछि पोखरेलले अर्को निवेदन दिएका थिए। मंगलबारको आदेशपछि अब उनको रिट दर्ता हुने भएको छ।