चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो, को-को छन् आकांक्षी ?


काठमाडौं । भुवन केसीको कार्यकाल सकिएसँगै चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो।

सूचना अनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।

को-को छन् आकांक्षी

विकास बोर्डमा सामान्यतया जसको सरकार छ, उहि निकटको व्यक्तिले नियुक्ति पाउने परम्परा बनेको छ । यसपटक नेकपा एमालेको सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि एमालेकै भागमा परेको हुँदा अध्यक्ष पनि एमालेनिकट कै व्यक्ति हुने करिव निश्चितजस्तै छ । यसपटक एमालेनिकट कलाकारहरु दिनेश डीसी, करिष्मा मानन्धर, अर्जुनकुमार डंगोल, दयाराम दाहाल र नरेन्द्र मर्हजनले आकांक्षाँ राखेका छन् । दाहाल पूर्व अध्यक्ष हुन भने महर्जन र डंगोल चलचित्र वितरक हुन् । डीसी एमाले निकटका कलाकर्मीहरुको संगठनका अध्यक्ष हुन् । त्यस्तै नायिका मानन्धर २ वर्षअघि एमालेमा प्रवेश गरेकी हुन् ।

आधा दर्जनले आकाँक्षा राखेपनि डीसी र मानन्धरबीच टक्कर हुने देखिएको छ । डीसीले अध्यक्षका लागि प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलमार्फत लविइङ बढाईरहेका छन् भने मानन्धरले पनि एमालेका महिला नेतृहरुमार्फत आफ्नो लविङ बढाइरहेकी छन् ।