एमालेमा फर्किन वामदेव आतुर, ओलीले भने तल्लो कमिटीको इन्चार्ज दिन पनि मानेनन् (भिडिओसहित)


काठमाडौं, १६ असोज । पूर्व गृहमन्त्री वामदेव गौतमले आफूहरुलाई नेकपा (एमाले) ले स्थान नदिएको गुनासो गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूसहित केही साथीहरु एमालेमा आउन चाहेको भनी प्रस्ताव राख्दा महासचिव शंकर पोखरेलले अब कोशिस नगर्नु भनेर जवाफ दिएको बताएका हुन् ।

‘एमालेका महासचिव शंकर पोखरेलका अनुसार मलाई उहाँहरुले कुनै पनि हालतमा, पहिलो आवश्यक्ता छैन, बुढो हुनुभयो । फेरि हामी उहाँलाई लाइक गर्दैनौं । अब तपाईँहरुले वामदेवलाई ल्याउने कोशिस नगरे हुन्छ भनेर मेरा साथीहरु वामदेवसहित हामी पार्टीमा आउन चाहन्छौं भन्न गएको बेला त्यस्तो जवाफ दिनुभयो,’– उनले भने ।

त्यस्तै, आफूले धेरै पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य पनि चाहिँदैन भैसेपाटी सैबु आवास क्षेत्रको इन्चार्ज बनाइदिनुस् भनेर खबर पठाउँदासमेत बेवास्ता गरिएको उनले बताए ।

‘मैले कतिपटक केपी कमरेडलाई खबर पठाएँ । मलाई अरु केही चाहिँदैन, यही भैंसेपाटी सैबुँ आवास क्षेत्रको इन्चार्ज बनाइदिउ ।’ उनले भने, ‘अरु केही पनि चाहिएन, केन्द्रीय कमिटी पनि चाहिएन । यसमा भयो भने मैले त्यहाँ जम्मै ठाउँमा अत्यन्त राम्रो संरचना पनि, आवास संरचनाजस्तो छ त्यसमा पनि सुधार गराउँछु र त्यहाँ भएका व्यक्ति हरेक परिवारमा पार्टी पुर्याउँछु । मैले त्यस्तो खबर पठाएको थिएँ । तर, उहाँहरुले त्यो पनि गर्नुभएन ।’