गौशाला धर्मशाला सञ्चालनका लागि महानगरले जिल्ला प्रशासनसँग माग्यो सुरक्षा


काठमाडौं, २९ असोज । काठमाडौं महानगरपालिकाले पशुपतिस्थिति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग सुरक्षा माग गरेको छ । आज (मंगलबार) महानगरले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनका लागि भनेको हो ।

मारवारी सेवा समितिले सस्तोमा लिजमा लिएको उक्त जग्गा सम्बन्धी करार पशुपति क्षेत्र विकास कोषले रद्द गर्ने निर्णय गरेको थियो । कोषको उक्त निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालतमा मारवारी सेवा समितिले मुद्दा दायर गरेको थियो । सो मुद्दामा मारवारी सेवा समितिको दाबी नपुग्ने फैसला भइसकेको छ ।

‘पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन/व्यवस्थापन गर्न मिति २०६१।०६।२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिपत्र बमोजिम काठमाडौँ महानगरपालिकाद्वारा धार्मिक सामाजिक कार्यमा उक्त गौशाला धर्मशाला सञ्चालनरव्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका कागजातको छायाँप्रति संलग्न गरी अनुरोध गरिन्छ,’– पत्रमा भनिएको छ ।