काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले वर्तमान सरकार आम जनताको बीचमा कमजोर सावित हुँदै गएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले कांग्रेस–एमाले गठबन्धन सरकारले पुरातन र असफल प्रतिनिधिको रुपमा काम गरिरहेको बताएका हुन् ।
नेता प्रधानले गठबन्धन सरकार निर्माणको औचित्यता पुष्टि गर्नका लागि कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको बारेमा अहिलेसम्म कुनै काम नै हुन नसकेको बताए । उनले कांग्रेस–एमाले गठबन्धन बनेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि जनताले पत्याउनै नसक्ने प्रकृतिका घटनाहरु सतहमा आइरहेको बताए ।
‘सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कांग्रेस एकपछि अर्को राष्ट्रियस्तरको विवादमा, आम जनताको बीचमा कमजोर सावित हुँदै गएको छ । सरकार निर्माण गर्ने बेलामा आफ्नो औचित्य देखाउन सात बुँदे समझदारी भएको थियो । त्यो केहीपनि गर्न सक्नुभएन । संविधान संशोधन के विषयमा गर्ने भन्ने एजेण्डा नै देखाउन सक्नु्भएन । अहिले जनताले पत्याउन नसक्ने परिघटनाहरु सतहमा देखापरेको छ । वर्तमान सरकारले पुरातन र असफल प्रतिनिधिको रुपमा काम गरिरहेको छ,’– प्रधानले भने ।
कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले देश र जनताको लागि केही गर्न नसकेको, जनतामा आश्वासनमात्रै बाँड्ने काम गरेको र चुनावदेखि चुनावसम्मको राजनीति गरेको नेता प्रधानको आरोप छ ।




प्रतिक्रिया