काठमाडौं, २८ मंसिर । मोरङ जिल्ला अदालतले उमागौरी सहकारी ठगी प्रकरणमा २६ प्रतिवादीमध्ये रोशन राजवंशीलाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अरूणकुमार झाको इजलासले राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार उक्त सहकारी अपचलनमा जोडिएका २६ प्रतिवादीमध्ये २५ जना फरार छन् । राजवंशी भने पहिले नै पक्राउ परेकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । अन्यको हकमा अब पक्राउ पुर्जी जारी हुने सूचना अधिकारी बुढाथोकीले बताए ।
‘रोशन राजवंशी पहिला नै पक्राउ परेका थिए । उनलाई आज थुनछेक बहसको क्रममा थुनामा पठाउने आदेश भएको हो । अन्य प्रतिवादीहरु अहिलेसम्म फरार छन् । उनीहरुको हकमा अब पक्राउ पुर्जी जारी हुन्छ,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा बुढाथोकीले भने ।
प्रतिवादीहरु उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अनसारी मिया, कोषाध्यक्ष शम्भु प्रसाद सिंह, सदस्यहरु आमोदकुमार मण्डल, जितमान ठाकुर, लेखासमितिका संयोजक विजयकुमार यादव, लेखा समितिका सदस्यहरु सुरेन्द्र कुमार राजवंशी, अशोककुमार विश्वास फरार रहेका छन् ।
त्यस्तै, सञ्चालक समितिकी पूर्व उपाध्यक्ष दिलमाया राई, प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती एवं पूर्व सञ्चालक समिति सदस्य अञ्जला कोइराला, पूर्व उपाध्यक्ष उपासी राजवंशी, लेखापाल सोनु यादव, पूर्व कर्मचारीहरु मोहमद नजाम उद्दिन, चम्पा गिरी, पूर्व उपाध्यक्षहरु शम्भु प्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्व सहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्व सदस्य ज्योति बास्कोटा, पूर्व सञ्चालक ुसमिति सदस्यहरु मित्रप्रसाद शिवाकोटी, सरद सिंह, मो. नसरुदिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशीलाई फरार प्रतिवादी बनाइ जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोग दायर गरेको थियो ।
योगिता शर्मा बास्तोलाको जाहेरीमा दायर भएको उक्त मुद्दा सहकारी ऐनअन्तर्गतको कसुरमा अगाडि बढाइएको छ ।




प्रतिक्रिया