एमालेको दाने जग्गाविरुद्धको रिटमा सुनुवाइ जारी


काठमाडौं, १ पुस । नेकपा (एमाले) लाई व्यवसायी मीनबहादुर गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गाको विरुद्धमा परेको रिटमा सुनुवाइ जारी रहेको छ । गत शुक्रबार (मंसिर २८ गते) सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा सो मुद्दा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज सो मुद्दामा सुनुवाइ जारी रहेको छ ।

व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

गत असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्। भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको रिट निवेदकको दाबी छ ।