काठमाडौं, ५ पुष । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र सङ्गठनात्मक अराजकता मुख्य चुनौती बनेको बताएका छन् । उनले संगठनात्मक अराजकता नियन्त्रण गर्नुपर्ने आवश्यकत्तापनि औंल्याए । एमाले सिन्धुलीको चौथो पूर्ण बैठकमा प्रमुख अतिथि गौतमले निर्देशनात्मक मन्तव्य राख्दै सङ्गठनात्मक अराजकता नियन्त्रण नगरेसम्म मिसन–२०८४ सफल हुन नसक्ने बताएका हुन् ।
उनले देशमा नयाँ खालको आर्थिक सङ्कट आएपछि नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको प्रष्ट पारे । नेता गौतमले मुलुकलाई अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्नेहरूलाई परास्त गर्न पनि नेपाली कांग्रेससँग सत्ता सहकार्य जरुरी भएको औल्याए।
मुलुकको अर्थतन्त्र अझै पनि ट्रयाकमा आइनसकेको र अपेक्षित राजश्व नउठे पनि अर्थतन्त्र सुधारका सङ्केतहरू देखिन थालेको र निजी क्षेत्र उत्साहित बनेको बताए । स्थायी कमिटी सदस्य गौतमले एमालेले राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको मुद्धा उठाएको र देशकोे नक्सा जारी गरेको स्मरण गर्दै उनले छिमेकी मुलुक चीनसँग विआरआई सम्झौता गरेर विकास र साझेदारी अगाडि बढाएको उल्लेख गरे।
एमालेलाई राष्ट्रिय शक्ति मात्र भएर होइन, राष्ट्रिय निर्णायक शक्ति बनाउनुपर्ने बताउँदै उनले पार्टी अनुशासन र पद्धतिका विषयमा कमिटीमा सशक्त ढङ्गले उठाउन र अवसरहरूको न्यायोचित वितरण नहुँदा पार्टीभित्र समस्या सिर्जना भएको प्रष्ट पारे ।




प्रतिक्रिया