भीम रावललाई सूर्य थापाको सुझावः एमालेले निष्काशन गरेको होईन, उत्तेजित नहुनुस्, आवेशमा नआउनुस्


काठमाडौं, १२ पुस । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले डा.भीम रावललाई उत्तेजित नहुन र आवेशमा नआउन सुझाव दिएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रावललाई पार्टी निष्काशित नगरेको र सदस्यता निलम्बनमात्रै गरेको बताउँदै आवेशमा नआउन भनेका हुन् । उनले रावलाई बुझ्ने देशभरी ठूलो पङ्ति रहेको पनि स्वीकार गरे । नेता थापाले रावल निकै वौद्धिक र प्राज्ञिक व्यक्ति रहेको पनि बताए ।

‘भीम रावल कमरेडलाई म व्यक्तिगत रुपमा कुनै आलोचना, टिप्पणी गर्दिनँ । उहाँ निकै वौद्धिक, प्राज्ञिक हुनुहुन्छ । नेपालमा साम्यवादी आन्दोलन, उत्भव र विकास भन्ने उहाँको पुस्तक पढेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही रुपमा तथ्यपरक ढंगले बुझ्ने देशभरीको ठूलो पङ्ति छ । अहिले अन्याय भयो भन्ने अनुभूति उहाँलाई हुँदापनि उत्तेजित नहुनुस्, आवेगमा नआउनुस्,’– उनले भने, ‘संस्थागत निर्णयमा अहिले उहाँको सदस्यता निलम्बन भएको छ, उहाँलाई निष्काशन गरेको होईन । उहाँको सदस्यता चाहीँ कायम नराखेको हो । पार्टीले त्यो गर्न सक्ने भयो । एउटा सदस्यले के–के गर्ने र नगर्ने भन्ने विधानमा छ ।’

रावललाई बोलाएर अध्यक्ष केपी शर्मा ओलीले के गर्ने ? कसो गर्ने ? भनेर छलफल गरेको, विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएर नै समस्या समाधानको प्रयास गरेको स्मरण गराए । रावलले निर्वाचित नेतृत्वलाई सहयोग नगरेको उनको टिप्पणी छ । आफ्ना कमीकमजोरीतिर फर्किन उनले रावललाई सुझाव दिए । साथै, भण्डाफोर, निन्दाको बाटोमा नलाग्न पनि उनले रावललाई आग्रह गरे । निन्दा र भण्डाफोरले माधव नेपाल, प्रचण्ड, सीपी मैनाली, वामदेव गौतमलगायतका कोहीपनि पार नलागेको बताउँदै उनले रावल पनि पार नलाग्ने बताए ।

‘यो भण्डाफोर, निन्दा आदि इत्यादि नास हुने बाटो हो । त्यता गएर कोही पनि पार लाग्दैन । माधव नेपाल पार लाग्नु भएन । प्रचण्ड पार लाग्नु भएको छैन । वामदेव गौतम, सीपी मैनाली पार लाग्नु भएको छैन । कोही पार लाग्नु भएको छैन । डा. भीम रावल पनि पार लाग्नु हुँदैन । एमालेका निर्णयमा कमी त्रृटि रह्यो भन्ने उहाँलाई लाग्यो भनेपनि त्यसलाई सच्याउने, त्यसबाट न्याय पाउने, अर्को निर्णय गर्ने प्रक्रिया एमालेभित्रै छ । एमाले बाहिर खोजेर त्यो मिल्दैन । पार्टीमै म रहन्न भनेर त्यो बाटो लाग्नुहुन्छ भने त त्यो हुने भयो,’– उनले भने ।

उनले आफूले बुझेको भीम रावल अन्यायपूर्ण भयो भनेपनि यसलाई संयमतापूर्वक सामना गर्न र आन्तरिक रुपमा पार्टीभित्र न्यायको खोजी गर्न सक्ने ल्याकत भएको व्यक्ति रहेको बताए । उनले रावललाई अध्यन, सुझबुझ र राजनीतिक संलग्नता भएको व्यक्तिको रुपमा चित्रण गरे । File Photo/RN