पञ्चायतले अधिकरण गरेको जग्गाको मुआब्जा अझै वितरण नभएपछि बालेको टिप्पणीः सरकारले व्यक्तिको जग्गा लुट्यो


काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले तीनकुनेमा व्यक्तिको जग्गा सरकारले लुटेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै उनले अधिकरणमा परेको तीनकुनेको जग्गाको मुअब्जा ५०औं वर्षदेखि नदिइएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले यसपाली दुई तिहाइको सरकार भएको बेलामा पनि जग्गा धनीहरुले मुअब्जा नपाउने निश्चित रहेको बताए । मुअब्जाको सन्र्दभमा कुनै काम अगाडि नबढेको बताउँदै उनले कुनै नेताले हुँदैछ, गर्दैछौं भनेको नपत्याउन जग्गा धनीहरुलाई आग्रह गरे ।

‘५०औं वर्षदेखि समस्या समाधान भएको छैन । उहाँहरुले मुअब्जा पाउनु भएको छैन । कहिले कुन सरकार हुँदाखेरी प्रतिपक्षले मान्छ कि मान्दैन मुअब्जा दिन भनिन्थ्यो । कहिले अर्को सरकार हुँदाखेरी बहुमत बहुमत हुनेले मान्छ कि मान्दैन भनिन्थ्यो । यसपाली त दुई तिहाइको सरकार छ । त्यही पनि केही गरेकै छैन । कोही नेताहरु घरमा आएर आश्वासन दिनुभएको छ, तपाईँहरुको काम हुँदैछ भन्नुभएको छ भने नपत्याउनुहोला, कुनैपनि प्रक्रिया भएको छैन । केही काम भएको छैन । सरकारले एक हिसाबले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो यो । यसको मुअब्जा दिनलाई कुनैपनि प्रक्रिया भएको छैन,’– उनले भने ।

सो जग्गा सरकारले लुटेको आफ्नो उमेरभन्दा पनि बढी समय भएको बालेनको टिप्पणी थियो । ‘हाम्रो उमेर भन्दापनि बढी भयो यहाँको जग्गा लुटिएको । यहाँको मान्छेहरुले दुःख पाउनु भएको छ,’– उनले भने । सो जग्गाको मुअब्जा चाँडै वितरण होस् भन्ने उनले शुभकामना व्यक्त गरे । बालेनले मुअब्जाका लागि स्थानीय सरकारदेखि नै झक्झक्याउनसमेत सुझाव दिए । आफ्नो तर्फबाट गर्नुपर्ने कुनैपनि काम नरोकिने उनको भनाइ थियो ।

तत्कालीन पञ्चायती सरकारले २०३१ सालमा स्मारक बनाउन तीनकुनको ५३ रोपनी जग्गा अधिकरण गरेको थियो । उक्त अधिकरण गरिएको ५३ रोपनीमध्ये ३२ रोपनी जग्गाको मुअब्जा अझै वितरण भएको छैन । ५० वर्ष भइसक्दा पनि जग्गाधनीले मुअब्जा पाएका छैन । सो स्थानमा पञ्चायत स्मारकसमेत निर्माण भएको छैन । केही समय अघिसम्म सो क्षेत्र फोहोरको थुप्रोमा परिणत भएको थियो । File Photo/RN