काठमाडौं, १३ पुष । वरिष्ठ कुटनीतिज्ञ प्रा.डा. लोकराज बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपछि नेपाल–भारत सम्बन्धमा केहीपनि सुधार नआएको टिप्पणी गरेका छन् । उनले अहिले नेपाल–भारत सम्बन्ध राम्रो पनि नभएको र नराम्रो पनि नभएको चित्रण गरे । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले दुई देशबीचको सम्बन्ध यथास्थितिमा रहेको टिप्पणी गरेका हुन् ।
उनले भने,‘हामीपनि धेरै बहकिन्छौं । पहिले नै धेरै कुरा गर्छौं । बोल्छौं । अनावश्यक कुरा बोल्छौं । र काम पनि त्यस्तै गर्छौं । भारत नै पहिले नै कुदेर जानुपर्छ भन्ने केही पनि छैन् । नेपालमात्रै भारतको ध्यान होईन । भारत छिमेक नीति राम्रो हुन्छ भन्छ । सधैं उनीहरुले नेपालमात्रै हेर्दैनन् ।’
अहिले भारतले नेपालसँग छलफल गर्न नै आवश्यक नठानेको उनको दाबी छ । उनले थपे,‘अब के विषयमा छलफल गर्ने ? अब सिमानाको कुरा गरौं भने इण्डियनहरुले सुन्नै चाहँदैनन् । हिजो अस्ति परराष्ट्रमन्त्री गएर भेटेरै आएको हो । अलि पहिले स्वागत राम्रोसँग गरिदिएको थियो । यसपालि त भएन । यो पहिलेको कुरा हो ।’ परराष्ट्रमन्त्री डा. आरजु राणालाई पहिलो पटक मन्त्री भएर भारत जाँदा भव्य स्वागत गरेको तर दोस्रो चोटी जाँदा वास्ता नगरेको विषयलाई उनले पहिले मनमोहन सिंहले गिरिजाप्रसाद कोइरालालाई विमानस्थलमा आँफै लिएर स्वागत गरेको तर पछि भेट नै नदिएको स्मरण गराए ।
उनले प्रधानमन्त्री ओलीलाई नै भारत भिजिट गराउनुपर्ने आफूहरुको प्राथमिकता के छ भनेर सोधे । उनले भने,‘के एजेण्डा छ ? समस्याको समाधान हुने के सम्भावना छ ? केही पनि छैन् । काम त चलिराखेको छ । अहिले नै टाउको फुटाएर यतिवेलै जानुपर्नेपनि कारण छैन् । होईन म भारत जान्छु भनेर यहाँ भाषण गर्नुपर्ने काम पनि छैन् ।’
उनले नयाँ दिल्ली यतिवेला अहिलेको सरकारसँग रिसाएको आफूले पाएको सुनाए । उनले भने,‘म पनि अस्ति भर्खरै दिल्ली गएको थिएँ, त्यहाँ कुरा बुझ्दा उनीहरु अलिक रिसाएका छन् । यो बीआरआई गर्नुपर्ने कारण के थियो यतिबेलै ? के फाईदा हुन्छ तिमीहरुलाई भने, तर उनीहरुको दृष्टिकोण हो । हामीले त भारतमात्रै हाम्रो मित्र होईन नि, उत्तरतिर पनि छ नि अर्को । तयसलाई पनि हेर्नुपर्छ नि ।’
भारतका लागि पूर्वराजदूतसमेत रहेका बरालले भारतबाट निम्तो नआईकन प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा भारत जान्छु भनेर भनेको र केही दिनपछि पार्टीको बैठकमा भारत भ्रमणको कुरा छोडिदिउँ निम्तो आए जाने हो नआए नजाने भनेकोप्रति गुनासो पोखे । उनले नेताहरुले त्यत्तिकै बोल्ने परिपाटी गलत भएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्री ओलीको पाकिस्तान भ्रमणको पनि कुरा उठेको विषयमा भने जानसक्ने तर भ्रमण सान्दर्भिक नहुने चित्रण गरे । तर, पाकिस्तान भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीले कुटनीतिक हिसाबले अलिक विचार गर्नुपर्ने हुने उनको तर्क छ । उनले कांग्रेस–एमालेको अहिलेको गठबन्धन स्वार्थको कारण बनेको दाबी गरे ।




प्रतिक्रिया