रोहित र अनिलदेखि आशिफ र लोकेशसम्म, यी खेलाडी हुने छैनन् एलिट कपको पहिलो संस्करणमा


काठमाडौं । गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश खेल्ने छन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

एलिट कपका लागि सहभागी हुने टिम यतिबेला आफ्नो टोली छनोट गर्नमा व्यस्त छन् । तर, राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेललगायतका एक दर्जन खेलाडिले भने यस प्रतियोगिता गुमाउने भएका छन् । रोहित पीएम कपको मुखमा आर्मी छाडेर एपीएफको कप्तान बन्न आएका थिए । रोहितको कप्तानीमा खेलेको एपीएफले ९ मध्ये ५ खेल जितेर १० अंक जोड्दै पाँचौ स्थानमा रहेको थियो । शीर्ष चारमा एपीएफ नपरेपछि रोहित स्वत आउट भएका हुन् ।

रोहितसँगै एपीएफका खेलाडी तथा राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटस्म्यान आशिफ शेख पनि एलिट कपमा हुने छैनन् । उनी पनि गत सिजनको पीएम कपमा एपीएफमै थिए । रोहित र आशिफको अतिरिक्त एपीएफबाट पीएम कप खेलेका सन्दीप जोरा, लोकेश बम,मौसम ढकाल, अविनाश बोहोरा र अमरसिंह रौठेललाले पनि एलिट कप खेल्ने छैनन् ।

गत सिजनको पीएम कप लुम्बिनीबाट खेलेका देव खनाल, कोशीबाट खेलेका दीपेश कँडेल, सुदूरपश्चिमका नरेन साउद, नरेन भट्ट र किरण ठगुन्नालगायतका खेलाडी पनि यस सिजनको एलिट कपमा हुने छैनन् ।

यता हालै सकिएको नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई जिताएका जनकपुरका कप्तान अनिल साह र मधेशका अलराण्डर पवन सर्राफ पनि यस सिजनको एलिट कपमा हुने छैनन् । साह र सराएफ दुवै चोटका कारण केही समय अझै मैदान बाहिरनै रहने भएका हुन् ।