काठमाडौं । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परेर ९५ जनाले ज्यान गुमाएका छन् ।
उक्त भूकम्पमा परी हालसम्म ९५ जनाको मृत्यु पुष्टि भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।
चिनियाँ सञ्चारमाध्यमले उक्त धक्का ६।८ म्याग्निच्युडको भएको जनाएका छन् ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भूकम्पका कारण नेपालका पूर्वी पहाडी जिल्लाका केही स्थान प्रभावित भएका छन् । भूकम्पकाकारण ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।
भूकम्पका कारण कोशीका पहाडी जिल्लामा अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ ।
यता बारामा भूकम्पको धक्का गएपछि भाग्नेक्रममा एक दर्जन विद्यार्थी बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पबाट भाग्नेक्रममा एक व्यक्ति घाइते भएका छन् । उनी डेढ तले घरको छतबाट हामफालेर भाग्न लाग्दा घाइते भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया