राप्रपाको चियापान समारोहमा कमल थापापनि पुगे


काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (शनिबार) पृथ्वी जयन्तीको अवसरमा राप्रपाले चियापान समारोह आयोजना गरेको थियो ।

महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हारेपछि थापाले राप्रपा छाडेका थिए । राप्रपा छाडेर उनले राप्रपा नेपाल पार्टी गठन गरेका थिए । राप्रपा नेपालले पनि आज चियापान समारोह आयोजना गरेको थियो । राप्रपा नेपालले आयोजना गरेको चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । अन्य ठूला दलका नेताहरु कोहीपनि सहभागी भएका थिएनन् ।

अन्ततः थापा आफैं लिङ्देनले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका हुन् । पछिल्लो समय थापाले लिङ्देनसँग एकताको प्रस्ताव ल्याएका छन् । तर, लिङ्देनले वास्ता नगर्दा एकता अभियान अगाडि बढ्न सकेको छैन । लिङ्देनसँग बिग्रिएको सम्बन्ध सुधारका लागि पछिल्लो समय प्रयासरत छन् ।