माओवादी नेताको टिप्पणीः ओली नेतृत्वको सरकारको ध्यान जग्गातिरै जाने !


काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यान सधैं जग्गा जमिनतिर हुने गरेको टिप्पणी गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्व कालमा पनि ओली गिरीबन्धु टी स्टेट प्रकणमा मुछिएको र अहिले पनि सोही जग्गा बेचविखन गर्नका लागि आकर्षित हुनेगरी अध्यादे ल्याइएको नेता तामाङको भनाइ छ । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता तामाङले ओली नेतृत्वको सरकारको ध्यान सधैं भूमितिर नै जानेगरेको बताएका हुन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार बनिसकेपछि खासगरी भूमिमै आँखा जाने । यो भन्दा अगाडि पनि गिरीबन्धु टी स्टेटसम्बन्धी निर्णय गर्यो । जुन निर्णयले सरकार त्यसै बदनाम भइराखेको छ । त्यस्तो नाम चलेको सुगम स्थानको टी स्टेटको जग्गा प्लटिङ गर्ने, त्यसलाई विक्री गर्ने छु्ट दिने, त्यसको सट्टामा अन्यत्र ठाउँमा कम्पनीलाई जग्गा उपलब्ध गराउने र अर्बौं रुपैयाँ कमिसन खाने त्यतिखेर निर्णय गरेको थियो । अहिले पनि विभिन्न भूमिहरुलाई निजी प्रयोजनका लागि दिने उद्देश्यअनुसार भूमिसम्बन्धी अध्यादेश ल्याएर आलोचना भइरहेको छ,’– उनले भने ।

सरकारले अहिले ल्याएको अध्यादेश बदनियतपूर्ण ढंगले ल्याएको आफूहरुले महशुस गरेको बताउँदै उनले संसद् अधिवेशन सुरु भएपछि यी विषयमा गहन छलफल हुने उनले बताए । सरकारले आगामी माघ १८ गते दिउँसो १ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरिसकेको छ ।