काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधि सभा सदस्य जीवन परियारले सरकारले ल्याएको अध्यादेशको बारेमा पार्टीभित्र विमति रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेशमा केही कुराहरु अपुग रहेको र संशोधन प्रस्ताव हालिने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले कुनैपनि सांसदलाई अध्यादेशको बारेमा बोल्न रोक नलगाएको दाबी गरे ।
पार्टी संसदीय दलको बैठकमा नेताहरुले अध्यादेशको बारेमा छलफल भएको जानकारी गराउँदै उनले भने,‘संसद्को बैठक प्रारम्भ हुनुभन्दा पहिला नै अहिलेको सरकारले के–के कामहरु गरेको छ ? अध्यादेशहरुमा के–के कुरा अपुग छ ? यसका बारेमा भोलि हामीले संशोधन हाल्न पर्यो भनेपनि के कुरा हाल्ले भन्नेबारेमा सभापतिज्यूले त्यो कुरा राख्नु भएको छ । अध्यादेशको बारेमा कहीँ कुरै गर्न मिल्दैन भनेर सभापतिज्यूले भन्नु भएको छैन । अहिले दुई दिनसम्म छलफल भयो । अझै पनि बोल्ने क्रम सकिएको छैन । अझैपनि बोल्न बाँकी छ । पार्टीभित्र अध्यादेशकै बारेमा पनि विमति छन् । संशोधन आवस्यक छ भन्ने कुरा उठेको छ ।’
संसदीय दलको बैठकमा अध्यादेशको सट्टा संसद्मा विधेयक नै आउनुपर्थ्यो भनेर आवाज उठिरहेको उनले बताए । अध्यादेशको अन्तरवस्तुको बारेमा आफूहरुले विज्ञहरु बोलाएर छलफल पनि गरेको नेता परियारले सुनाए । उनले भने, ‘हिजो दलको बैठकमा अध्यादेशको बारेमा विभिन्न खालको विचारहरु नआएको होईनन् । आउनु पर्छ, आएको कुरालाई हामीले गलत ढंगले लिन हुँदैन । अध्यादेशको सट्टा संसद्मा विधेयक ल्याएको भए हुन्थ्यो भन्ने कुरा बहसको विषय बनेको छ । अहिले जे कुराहरु प्रस्तावित भएर आएका छन्, यसको अन्तरवस्तु ठीक छ कि छैन भन्ने कुरा एउटा पाटो छ । अर्को कुरा यहाँले भनेजस्तै विभिन्न नेताहरु, नेतृत्वहरुले अध्यादेश किन ल्याउनुपर्थ्यो ? अध्यादेशभन्दा विधेयकको रुपमा आइदिएको भए हुन्थ्यो भन्ने कुरा बहसको विषय बनेको छ,’– उनले भने ।




प्रतिक्रिया