‘उर्जा विकास मार्गचित्र’ को लक्ष्य पूरा हुनेमा मन्त्री खड्का ढुक्क, विपन्न नागरिकलाई पनि हाइड्रोमा लगानी सुनिश्चित भएको दाबी


काठमाडौं, १५ माघ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले गरिबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकहरुलाई पनि हाइड्रोपावरमा लगानी सुनिश्चित गर्नेगरी काम भइरहेको बताएका छन् । आज (मंगलबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबीको रेखामुनि रहेका नागरिकलाई परियोजना नै धितो रहनेगरी २ लाखदेखि ५ लाखसम्मको शेयर दिने व्यवस्था मन्त्रालयले गरेको बताए । विपन्न नागरिकलाई उपलब्ध गराइने यस्तो प्रकारको सुविधा सकेसम्म निःशुल्क र निःशुल्क सम्भव नभएमा केही सेवा शुल्क लिएर गरिने उनको भनाइ छ । ट्रान्समिसन लाइन विकास र विस्तारका लागि पनि निजी क्षेत्रलाई आह्वा गरिने उनले बताए ।

‘यस मन्त्रालय सम्हालेर मैले बसेपछि मलाई के लाग्यो भने आफूसँग रकम हुने मान्छेहरुले अर्थात् केही मान्छेहरुले त यो क्षेत्रमा साझेदारी प्राप्त गर्ने भए, लगानी गर्ने भए । कोहीसँग केही नहुने मान्छे, जो विशुद्ध काम गरेर, ज्याला गरेर पेट पाल्न गाह्रो भएको छ । तिनीहरुको लागि कसरी स्रोतमाथिको अधिकारभित्र समावेश गर्ने भन्ने हेतुले मन्त्रालयले निर्णय नै गरेर, सम्भव देखेर हाइड्रो पावरमा १० प्रतिशत प्रभावित क्षेत्रका मानिसहरुलाई शेयर वितरण गर्यौं । त्यतिले पुग्दैन भनेर सरकारले कम्तिमा पनि आयोजना हेरेर दुई लाखदेखि पाँच लाखसम्मको शेर दिन सकियो भने आयोजना पनि समयमा बन्ने, जनसहभागिता रहने र सबैले अपनत्व महशुस गर्ने भएका कारणले सकेसम्म निर्व्याज, भएन भने केही सेवा शुल्क लिएर यस क्षेत्रमा लगानी गर्नुपर्छ,’– मन्त्री खड्काले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नभनी देश र जनताको हितमा काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएको पनि मन्त्री खड्काले बताए । प्रधानमन्त्रीको निर्देशन बमोजिम आफूहरु तीब्र विकासका लागि खटिइएको बताउँदै मन्त्री खड्काले अब कसैले चाहेर विकासको गति नरोकिने बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले हरेक मन्त्रीहरुलाई भन्नुभएको छ– दिनरात नभनी, सुत्ने समय छुट्याएर बाँकी समय मुलुकको आवस्यकतालाई महशुस गरेर विकास निर्माण, सुशासनको काम अगाडि बढाउने, आ–आफ्नो जिम्मेवारीका मन्त्रालयहरुले द्रुत गतिमा डेलिभर गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन भएको कारणले हामी त्यसमा लागेका छौं । यदाकदा जे–जे भनिएतापनि अब विकासको गति रोक्ने परिस्थितिमा पनि छैन मुलुक । समृद्धि त्यसै आउँदैन,’– उनले भने ।

साथै, उर्जा विकास मार्गचित्रको लक्ष्य निर्धारित अवधिमै पूरा हुने उनले विश्वास व्यक्त गरे । विगतलाई तुलना गर्दा मार्गचित्रको लक्ष्य निकै ठूलो हो कि भन्ने लागेपनि नेपालमा स्रोत, साधन प्रशस्त रहेको उनले बताए । मार्गचित्र अनुसार परियोजना निर्माण गर्न समय नलाग्ने र लक्ष्य हाँसिल हुनेमा उनले विश्वास व्यक्त गरे ।

‘विगतलाई तुलना गर्दा ठूला लक्ष्य लिएको हो कि २८ हजार ५ सय मेगावाट भन्ने लाग्छ । तर, हामीसँग १६ हजार ५ सय मेगावाटदेखि लिएर हजार, २ हजार मेगावाटका त कयौं प्रोजेक्टहरु छन् । बनाउन समय लाग्दैन । यो अहिलेको सरकारले लिएको नीति, मार्गचित्रमा यहाँहरुले उठाउनुभएका सबै विषयहरु समावेश भएको छ,’– उनले भने । File Photo/RN