काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आफूहरुसँग छलफल नै नगरी समाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गम्भीर छलफल हुनुपर्नेमा कुनै छलफल नै नभई विधेयक दर्ता गरिएको बताएका हुन् । उनले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि नियन्त्रण गर्न नहुने बताए । संविधानको धारा १७ ले दिएको वाक स्वतन्त्रता कसैले हनन् गर्न नसक्ने उनले बताए ।
‘हाम्रो प्रतिनिधित्व गरेर बसेका मन्त्रीजीहरुसँग छलफल भयो होला । पदाधिकारी र सरकारको बीचमा यसबारेमा छलफल भयो होला । तर, हामीहरुसँग यसबारेमा, यसको गम्भीरताको विषयमा जुन छलफल हुनुपर्ने भएको छैन । यसलाई सबै बेठीक छ भन्ने कुरा पनि होईन, केही नियमन गर्न जरुरी पनि छ, नियन्त्रण होईन । संविधानको धारा १७ ले दिएको वाक स्वतन्त्रतालाई कुनै सरकारले नियन्त्रण गर्न सक्दैन । नियन्त्रण हुन हुँदैन,’– उनले भने ।
साथै, सरकार परिवर्तनको अहिले कुनै सम्भावना नरहेको उनले बताए । सरकारलाई आफूहरुले सच्याउने नेता केसीले बताए । सरकारले रोजगारी वृद्धि गर्न नसकेको, विदेश जानेको संख्या कम नभएको र गर्न नसकिएको र व्यापार घाटा कम गर्ने पक्षमा सरकारले काम नगरेको र ढिलासुस्ती भइरहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा निराशाको अभिव्यक्ति दिएको पनि उनले बताए । वर्तमान सरकार बनेपछि जनतामा आशाको सञ्चार हुने अपेक्षा गरिएपनि त्यो हुन नसकेको उनको दाबी छ ।
‘आज प्रधानमन्त्रीले जनतामा अविस्वासको स्थिति, निराशाको स्थिति, विश्वास टुटेको स्थितिको अभिव्यक्ति दिनुभयो । त्यो स्थितिलाई निराकरण र सम्बोधन गर्नका निम्ति सरकारले जुन आशाको सञ्चार गर्नुपर्ने, त्यो अहिलेसम्म भएको छैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया