काठमाडौं, १८ माघ । समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठन समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालाबजारी, महँगीको विरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गरेको छ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, नेकपा (एकीकृत समाजवादी) को युवा संगठन युवा संघ नेपाल, विप्लव नेतृत्वको नेकपाको युवा संगठन युवा संगठन नेपाल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको युवा संठन नेपाल समाजवादी युवा संघले आज संयुक्त प्रदर्शन गरेको हो ।
वर्तमान सरकारले जनविरोधी गतिविधिहरू गरिरहेकाले खबरदारीका लागि समाजवादी युवा मोर्चाले प्रदर्शन गर्नुपरेको वाईसीएल अध्यक्ष सुवोधराज सेर्पालीले बताए । वर्तमान सरकार बनेदेखि नै भ्रष्टाचार, महँगी र कालोबजारी मौलाएको र जनजीविका अस्तव्यस्त बनेको सेर्पालीको भनाइ छ ।
भ्रष्टाचार, महँगी र कालोबजारी नियन्त्रण र आम जनताको जनजीविकाको पक्षमा सरकारले तत्काल ठोस कदम नचालेको खण्डमा थप संघर्ष र चरणबद्ध आन्दोलन गर्ने उनले बताए ।












प्रतिक्रिया