काठमाडौं, १९ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा आउने चाहना राखेमा कसैले रोक्न नसक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले भण्डारीलाई राजनीतिक अधिकार प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका हुन् । उनले एमालेको सकृय राजनीतिमा आउने कि नआउने भन्ने कुरा भण्डारीमै भर पर्ने उनले बताए ।
‘हाम्रो हिजोदेखिको पार्टी लिगेसी हो । दोस्रो कुरा उहाँ हाम्रो नजिकै बसोबास गर्नुहुन्छ । राष्ट्रपति हुँदापनि भेटघाट हुन्थ्यो, राष्ट्रपतिबाट विदा भएपछि पनि कहिलेकाहीँ भेटघाट त हुन्छ । त्यतिमात्रै होईन, यो अस्वभाविक कुरा नै भएन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने सम्बन्धित व्यक्तिको चाहनामा भरपर्छ । एउटा नागरिकको हिसाबले उहाँ राष्ट्रपति हुनुभयो । महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले एउटा नागरिकको हिसाबले म यो अधिकार प्रयोग गर्छु भन्नुभयो भने तपाईँ हामी को हो र रोक्ने ? एमाले बाधक बन्नै सक्दैन,’– उनले भने ।
साथै, आगामी महाधिवेशनबाट पनि एमाले अध्यक्षमा केपी शर्मा ओली नै अध्यक्ष बन्ने उनको दाबी छ । एमालेले विधानले दुई पटकभन्दा बढी अध्यक्ष बन्न रोकेको भएपनि आगामी विधान महाधिवेशनबाट त्यो प्रावधान सच्याइने उनले बताए ।
त्यस्तै, एमालेले कुनैपनि कानुनविपरीतको काममा संरक्षण नगर्ने उनको भनाइ छ । उनले गिरीबन्धु टी स्टेट प्रकरणमा पनि दशी, प्रमाण र तथ्यले पुष्टि गरे अनुचित काम गर्नेहरु दण्डको भागिदार हुने बताए । ‘दशी प्रमाणले पुष्टि गर्छ भने जोसुकैपनि दण्डको भागिदार हुन्छ । बकबक गर्नुपर्ने आवस्यकता छैन । कसैले पनि अनुचित, गलत काम गरेको छ, कानुनविपरीत काम गरेको छ भने दण्डको भागिदार हुन्छ । यसमा कुनै इफ बटको कुरा हुँदैन,’– उनले भने ।




प्रतिक्रिया