माधव नेपालको पार्टीले अध्यादेशको विरोध गर्न सुहाउँदैनः कांग्रेस नेता घिमिरे (भिडिओसहित)


काठमाडौं, १९ माघ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादी अध्यादेशबाटै निर्माण भएको पार्टी भएकाले उसले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका हुन् । एकीकृत समाजवादीका नेताहरुले हिजो संसद्मा अध्यादेशको विरोध गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विभिन्न सार्वजनिक कार्यक्रममा अध्यादेशको विरोध गरिरहेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष र उक्त पार्टीका सांसदहरुले कम्तिमा पनि अध्यादेशको विरोध गर्न नसुहाउने बताउँदै नेता घिमिरेले भने, ‘उहाँको पार्टी नै अध्यादेशबाट बनेको हो । आफ्ना लागि अध्यादेश ल्याउँदा ठीक, त्यो राजनीतिक प्रकृतिको थियो । यो मुलुकको हितको निम्ति, आर्थतन्त्रसँग जोडिएको, उन्नतिको लागि ल्याइएको अध्यादेश हो । त्यो ल्याउँदा चाहीँ विरोध ? जसको पार्टी नै अध्यादेशमा आधारित भएर निर्माण भएको छ, त्यो मिलेन ।’

संसद्को चालु हिउँदे अधिवेशनबाट कम्तिमा पनि २५/३० वटा विधेयक पारित हुने उनको दाबी छ । विधेयकहरु पारित नहुँदा संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै उनले यो अधिवेशनमा जसरी पनि काम गर्नुपर्ने बताए । File Photo/RN