भारतसँग हाम्रो तर्फबाट कुनैपनि सम्बन्ध बिगार्ने काम भएको छैन : योगेश भट्टराई


काठमाडौं, १९ माघ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले भारतसँग नेपालको सम्बन्ध बिगार्ने कुनै काम नभएको दाबी गरेका छन् । उनले भने,‘भारतसँग हाम्रो तर्फबाट कुनैपनि सम्बन्ध बिगार्ने काम भएको छैन् । भारतीय पक्षले, जो अहिले विश्वको सुपरपावरको दौडमा छ । भारत आजको विश्वको पाँचौ अर्थतन्त्र हो । अहिले अब भारतलाई तेस्रो अर्थतन्त्र भनेर अनुमान गरिएको छ । अब त्यसपछि दोस्रो हुँदै, पहिलोमा जाला । अर्को ठूलो अर्थतन्त्र भनेको चीन हो । दुवै देशसँग हामी सन्तुलन कायम गर्छौं ।’ उनले भारत र चीन दुवैको नाजायज प्रस्तावहरु आफूहरुले नमान्ने बताए ।

उनले देश अधोगतिमा अघि बढेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्टीकरण दिएका छन् । मुलुकको अर्थतन्त्र एकदमै नराम्रो दिशामा गैरहेकोले आफूहरु दुई ठूला दल मिलेको उनको भनाई छ । आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले देशलाई सही दिशामा डोर्याउनको लागि नै कांग्रेस र एमाले मिलेको स्पष्ट पारे ।

उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले ६ महिना समय व्यतित गरेको भएपनि यसले धेरै ठूलो उपलब्धि हाँसिल गर्न नसकेको स्विकारे । तर, यो ६ महिनामा माओवादी केन्द्रको नेतृत्वको सरकारले मुलुकलाई बिगारिरहेको अवस्थाबाट सम्हालेर सकारात्मक दिशातर्फ मोडेको भट्टराईको दाबी छ । उनले भने,‘अब हामी सही ट्रयाकमा छौं । हिँड्छौं । दौडिन्छौं पनि ।’