काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका छन् । आज (शनिबार) पार्टीको सहकारी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी आजको आवश्यकता बन्दै गएको बताएका हुन् । उनले मूल्य मान्यता र सिद्धान्तअनुसार सहकारी सञ्चालन हुनुपर्नेमा जोड दिए ।
‘वर्तमान अवस्थामा सहकारीको क्षेत्रमा देखापरेका विभिन्न विकृति, विसंगतिहरुको अन्त्य गरी मूल्य मान्यता र सिद्धान्तअनुसार सहकारी सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध छ । आम नागरिकहरुले दुःख गरेको बचत गरेको बचतकर्ता पीडित भएका छन् । रकम सहकारी सञ्चालकहरुले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताहरुको रकमको सुरक्षाको ग्यारेन्टी गराउनु पर्दछ र आजको आवश्यकता पनि त्यही हो,’– सभापति देउवाले भने ।
अहिले संसदलगायत सबै ठाउँमा सहकारी पीडितहरुको दुःख सुनिन थालेको पनि उनले बताए । पार्टीको सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या र समाधानका लागि काम गरेको सुन्दा आफूलाई खुसी लागेको पनि उनले सुनाए ।




प्रतिक्रिया