काठमाडौं, २० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर रहेको बताएका छन् । एन अटिजम केयर फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्ने सम्बन्धमा समिति नै बनाएर अध्ययन भइरहेको समेत बताए ।
उनले टिकापुरमा अटिजम भएका व्यक्तिहरुलाई राख्ने केन्द्र बनाउने तयारी भएको जानकारी दिए । अबको बजेटसम्म समितिको प्रतिवेदनमा विद्यालय खोल्ने, थेरापी खोल्ने र अटिजम भएका समूदायलाई सेवा प्रदान गर्नका आवश्यक काम गर्ने उनले बताए । मन्त्री पौडेलले अटिजम भएका बालबालिकाको सहयोगार्थ एन अटिजम केयर फाउन्डेसनले गरेको कामको प्रसंसासमेत गरे ।
एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको कन्सर्ट यहि फागुन १७ गते हयात होटलको आँगनमा हुनेछ । फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।










प्रतिक्रिया