काठमाडौं । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ।
स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन् । ०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गतेस्थापना दिवस मनाउँदै आएको छ ।
यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ। अहिले जिल्ला शाखाहरुको अधिवेशन धमाधम भइरहेका छन्।
यस्तो छ चौतारीको इतिहास स्थापनाकालदेखि हालसम्म
२०५५ साल माघ २२ गते अनामनगरस्थित तत्कालीन छलफल साप्ताहिकका प्रबन्ध निर्देशक हेम पाठकको घरमा भेला भएका अगुवा पत्रकारहरूले गरेका हुन् । प्रेस चौतारी नेपालको स्थापना हुनुअघि प्रगतिशील पत्रकार समूह अस्तित्वमा थियो ।
तत्कालीन नेकपा (एमाले) का प्रचार बिभाग प्रमुख एवं पूर्व सञ्चारमन्त्री प्रदीप नेपालको योजना र अग्रज पत्रकार तथा लेखक अग्नि शिखा, बरिष्ठ पत्रकार गोपाल थपलिया लगायत तीन दर्जन अग्रज पत्रकारहरूको पहलकदमीमा प्रेस चौतारी नेपालको जन्म भएको हो । बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्ने प्रेस चौतारीको मूल उद्देश्य रहेको छ । हाल प्रेस चौतारी नेपालले ७७ वटै जिल्ला र सम्भव भएसम्म स्थानीय तहसम्म आफ्नोसंगठन विस्तार गरेको छ ।
प्रेस चौतारी नेपालका संस्थापक सदस्यमध्येका एक गणेश वस्नेत वर्तमान कार्यसमितिमा अध्यक्ष छन् । २०७३ जेठ ६–८ मा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका बस्नेत २०७८ फागुन २७–२८ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
प्रेस चौतारी नेपालको संस्थापक सदस्यहरूमा गोपाल थपलिया, अग्निशिखा (स्वर्गीय), कुन्दन अर्याल, विजय चालिसे, जनार्दन पुडासैनी (राजव), युवनाथ लम्साल, शम्भु श्रेष्ठ, बालकुमार नेपाल, कुमार भट्टराई, गोकुल प्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, गगन विष्ट, राजेन्द्रबहादुर अर्याल, प्रमोद दाहाल, गणेश बस्नेत, आरके धर्मस्थली, सुशीलवीर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्रबहादुर अर्याल, हेम पाठक, श्रीधर आचार्य, टंक पन्त, केपी गौतमलगायत २७ जना संस्थापक रहने गरी विजयकुमार चालिसेको नेतृत्वमा १२ सदस्यीय तदर्थ समिति बनेको थियो । जसमा उपाध्यक्ष जनार्दन पुडासैनी (राजव), महासचिव युवनाथ लम्साल, सचिव प्रमोदकुमार सिंह, कोषाध्यक्ष टंक पन्त रहेका थिए । सदस्यहरू कुमार भट्टराई, गोकुलप्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, सुशीलवीर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्र अर्याललगायत रहेका थिए ।
प्रथम राष्ट्रिय अधिवेशन
प्रेस चौतारी नेपालको प्रथम अधिवेशन २०५६ माघ २६ गते काठमाडौँमा सम्पन्न भएको थियो । अधिवेशनले संस्थापक अध्यक्ष विजय चालिसेलाई नै अध्यक्ष बनाएको थियो भने उपाध्यक्षमा यज्ञ शर्मा, महासचिवमा शम्भु श्रेष्ठ र सचिवमा प्रमोद दाहाल रहेका थिए । कोषाध्यक्षमा श्रीधर आचार्य चयन भएका थिए ।
दोस्रो राष्ट्रिय अधिवेशन
पहिलो अधिवेशन सम्पन्न भएको दुईवर्षपछि २०५८ वैशाख १२–१४ मा ललितपुरमा दोस्रो अधिवेशन सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट शम्भु श्रेष्ठको अध्यक्षतामा २४ सदस्यी कमिटी गठन भएको थियो ।
तेस्रो राष्ट्रिय अधिवेशन
प्रेस चौतारी नेपालको तेस्रो महाधिवेशन पनि दोस्रो महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि २०६० वैशाख २५–२६ मा पाल्पाको तानसेनमा सम्पन्न भयो । अधिवेशनबाट पुनः शम्भु श्रेष्ठ नै अध्यक्ष चयन भएका थिए ।
चौथो राष्ट्रिय अधिवेशन
प्रेस चौतारी नेपालको चौथो अधिवेशन २०६२ साल जेठ २६–२८ मा हेटौँडामा सम्पन्न भयो । अधिवेशनबाट अध्यक्षमा बालकृष्ण चापागाईँ र महासचिवमा गणेश बस्नेत निर्वाचित भए । उक्त अधिवेशनपछि तत्कालीन पाँच विकास क्षेत्रलाई आधार मानेर पाँच जना उपाध्यक्ष राख्ने व्यवस्था भयो । सोही अनुसार महाधिवेशनबाट पूर्वाञ्चल उपाध्यक्षमा देवी दुलाल, मध्यमाञ्चल विकास क्षेत्रमा भरतराज पोखरेल, मध्यपश्चिमाञ्चलमा शरद अधिकारी, पश्चिमाञ्चल विकास क्षेत्रमा मोहन चापागाईँ र सुदूरपञ्चिमाञ्चलबाट खेम भण्डारी उपाध्यक्ष बनेका थिए ।
पाँचौ राष्ट्रिय अधिवेशन
२०६४ जेठ ३० गते काठमाडौँको कीर्तिपुरमा पाँचौँ महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनबाट पुनः बालकृष्ण चापाँगाईँ नै अध्यक्षमा निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा गणेश बस्नेत चयन भए । चौथो महाधिवेशन कै विधान अनुसार पाँचौँ महाधिवेशनमा पनि पाँच विकास क्षेत्रबाट पाँच उपाध्यक्ष निर्वाचित भएका थिए ।
छैटौँ राष्ट्रिय अधिवेशन
प्रेस चौतारी नेपालको छैटौँ राष्ट्रिय अधिवेशन माघको २२– २३ २०६६ मा बुटवलमा सम्पन्न भयो । उक्त अधिवेशनबट गगन विष्ट अध्यक्ष निर्वाचित भए भने ४६ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भयो ।
सातौँ राष्ट्रिय अधिवेशन
विसं. २०६९ फागुन २५–२६ मा विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको सातौँ महाधिवेशनबाट राजेन्द्र अर्यालको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भयो ।
आठौँ राष्ट्रिय अधिवेशन
प्रेस चौतारी नेपालको आठौँ महाधिवेशन २०७३ साल जेठ ६ देखि ८ गतेसम्म काठमाडौँमा सम्पन्न भयो । सो अधिवेशबाट सर्वसम्मत रूपमा ९० सदस्यीय केन्द्रीय समिति, लेखा र अनुशासन आयोग चयन भएको थियो । महाधिवेशनबाट संस्थापक सदस्य गणेश बस्नेत अध्यक्ष भए भयो भने माधव नेपाल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए । मुलुक नयाँ संरचनामा गएको अवस्थामा प्रदेशलाई आधार मानेर उपाध्यक्ष छनोट भएका थिए ।
नवौं राष्ट्रिय महाधिवेशन
नवौं राष्ट्रिय महाधिवेशन फागुन २७–२८ २०७८ मा पोखरामा सम्पन्न भयो । एकता प्रक्रियाका कारण महाधिवेशनको समय केही लम्बिएको हो । महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा सर्वसम्मत चयन भए । महाधिवेशनले बस्नेतको नेतृत्वको १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्यो । महाधिवेशनले बिधान संशोधन गर्दै यसअघि पाँचौं राष्ट्रिय अधिवेशनदेखि कायम रहेको पदाधिकारीको संरचना हेरफेर गरी बरिष्ठ उपाध्यक्षको ब्यवस्था हटायो ।




प्रतिक्रिया