काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका निवर्तमान पदाधिकारीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने प्रस्ताव अस्वीकृत भएको छ ।
सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सो प्रस्ताव अस्वीकृत गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकमा सो एजेण्डा पेश भएको थियो । तर, बहुमत सदस्यले असहमति जनाएपछि प्रस्ताव अस्वीकृत भएको खुमलटार स्रोतले जनाएको छ ।
अखिलमा ३२ वर्षे उमेर हद लागू भएपछि बाहिरिएका निवर्तमान पदाधिकारीलाई के गर्ने भन्नेबारे निर्णय गर्न उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा निवर्तमान अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो । सो कार्यदलले हिजो प्रतिवेदन पेश गरेको थियो । कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको थियो ।
उमेर हदका कारण बाहिरिएका महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन कार्यदलले प्रस्ताव गरेको छ । ती बाहेक तलकालाई पनि आवश्यकताअनुसार जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।
पुस १३ गते अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्नेबारे भएको निर्वाचनमा खुला पक्षधर पराजित भएका थिए । उमेर हदका कारण झन्डै हजार जना विद्यार्थी नेताहरू बाहिरिएका थिए ।
पुरानो समितिमा १७९ जना पदाधिकारीमध्ये १३८ जना बाहिरिएका छन् । तीमध्ये अध्यक्ष पञ्चासिंह मात्र केन्द्रीय सदस्य छिन् ।
गत माघ १२ गते भएको अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा अध्यक्ष बनेका थिए । शक्ति बस्नेत समूहबाट उम्मेदवार बनेका उनलाई उमेर हदका कारण बाहिरिएका नेताहरुले साथ दिएका थिए । जसलाई क्रान्तिकारीमा ‘काका समूह’ भनेर चिनिन्छ । ‘काका समूह’ लाई विधानबाटै बिदाइ गरेपछि अध्यक्षमा ३२ वर्ष मुनिका ६ जनाले उम्मेदवारी दिएकामा पछि विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्षमा चुनिएका सापकोटा उमेरहदको विपक्षमा थिए ।
अध्यक्षमा उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त शर्मा, उपमहासचिव वर्षमान पुननिकट सुदिन पौडेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्रतिस्पर्धामा थिए।
क्रान्तिकारीको चुनावमा आफू निकटका उम्मेदवारलाई जिताउन सहयोग गरेका ‘काका समूह’ लाई व्यवस्थापन गर्ने जिम्मा अहिले उपमहासचिव रहेका बस्नेतको काँधमा आइपुगेको छ । उनले सोही समूहलाई व्यवस्थापन गर्न गरेको प्रयास भने पदाधिकारीबैठकले अस्वीकृत गरिदिएपछि असफल बनेको छ ।




प्रतिक्रिया