पाथीभरामा केवलकार निर्माण गर्न सरकारले विकास संकटकाल लगाएर भएपनि काम गर्नुपर्छ : अरूण सुवेदी (भिडिओसहित)


काठमाडौं, २२ माघ । राजनीतिक विश्लेषक अरुण सुवेदीले पाथीभरामा केवलकार निर्माण गर्नको लागि सरकारले विकास संकटकाल लगाउनुपर्ने सुझाव दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा हाइड्रोपावर र केवलकारजस्ता पूर्वाधार विकास निर्माणमा स्थानीय अराजकता आयो भने सरकारले त्यसको समाधान गर्नुपर्ने बताए । उनले भने,‘स्थानीय व्यवधान आयो भने सरकारले कानून संशोधन गर्ने हो, विकास परियोजना रोक्ने होईन । त्यसको लागि सरकार एक्शनमा जानुपर्छ । यस्तो स्ट्रोङ गणित छ ।’

उसो भए संकटकाल लगाएर भएपनि बाटो निर्माणलगायतका विकासका काम गर्नुपर्छ भन्ने तपाईंको मान्यता हो भन्ने धमलाको प्रश्नमा सुवेदीले भने–‘बनाउनुपर्छ । संसारमा भएको रीत हो ।’ उनले नेपालका मिडिया नेपालकै वैधानिक स्रोतको पक्षमा उभिनुपर्ने मत राखे ।