काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पछिल्लो समय १८ महिना सरकारको नेतृत्व गर्दा देशको लागि राम्रो रेकर्ड बनाएको स्पष्ट पारेका छन् । आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीद्वारा बेनीमा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई सधैं पछि पार्ने भ्रष्टाचार रहेको बताए ।
भ्रष्टाचारमा नेता र कर्मचारी पनि मुछिने गरेको उनको टिप्पणी थियो । उनले दलाल र विचौलियाहरुले जनताको रगत नराम्रोसँग चुसेको कुरा आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा नजिकबाट थाहा पाएको सुनाए । आफूले भूमाफियाहरुको विरुद्धपनि लडाईं छेडेको दाहालको दाबी थियो । देशमा विद्यमान आर्थिक संकटको समाधानको लागि भ्रष्टाचारको विरुद्ध लड्नुपर्ने आवश्यकत्ता औंल्याएर आफूले कदम चालेको पनि उनको भनाई छ ।
उनले आफ्नो चीन भ्रमणको क्रममा ८ वटा पराम्परागत नाका खोल्ने सहमति भएको स्मरण गराए । उनले आफूले भारतसँगमात्रै नभएर चीनसँगपनि विद्युत व्यापार गर्नुपर्छ भने त्रिदेशीय प्रसारण लाईनको सम्झौता गरेको दाबी गरे । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दा भ्रष्टाचारी र विचौलियालाई सह्य नभएको उनको आरोप थियो ।
उनले अहिलेको सरकार संविधानविरोधी सरकार भएको कुरा दोहोर्याए । लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सदनमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको इतिहास नभएको स्मरण गराउँदै नेपालमा भने कांग्रेस र एमाले मिलेर सरकार बनाएको दाहालको भनाई छ । भ्रष्टाचारीलाई संरक्षण गर्न र नेपाली जनतामाथि निरंकुशता लाद्नको लागि कांग्रेस र एमाले मिलेको प्रचण्डको आरोप छ ।
उनले केपी ओलीजस्तो जाली र झेली र फटाहा व्यक्ति प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? भन्दै प्रश्न गरे । उनले कांग्रेस र एमालेले देशको लागि काम गर्न खोजेको भए विनोद चौधरी र क्याप्टेन रामेश्वर थापाको घरमा रातको ११ बजेपछि बैठक बस्ने गरेको र मिलेको आरोप लगाए ।
कांग्रेस र एमाले मिलेर राति १२ बजेपछि सहमति गरेको भन्दै त्यसलाई आफूले अप्राकृतिक भनेको दाहालको भनाई छ । उनले अहिलेको सरकारले दलाल र विचौलियाको पक्षमा काम गरेको आरोप लगाए । अहिलेको सरकारले भ्रष्टाचारीलाई बचाउने, आफ्ना जतिपनि तस्कर भएपनि उन्मुक्ति दिने गरेको दाहालको भनाई छ । तर, विरोधीलाई चाहीँ हुँदै नगरेको काममा प्रतिशोध साँध्ने काम गरेको दाहालको दाबी छ ।




प्रतिक्रिया