यही सरकारको माध्यमबाट देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापित गर्ने होः मन्त्री पाण्डे (भिडिओसहित)


काठमाडौं, २३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वर्तमान सरकारको माध्यमबाट देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापित गरिने बताएका छन् । हिजो (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुशासन स्थापित गरी देशलाई समृद्ध बनाउने कुरामा वर्तमान सत्तारुढ दलहरु प्रतिवद्ध रहेको बताएका हुन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले आफू आवद्ध पार्टी सरकार टिकाउने, जोगाउने र यसलाई सफल बनाउने कुरामा समेत प्रतिवद्ध रहेको बताए ।

‘यो सरकारलाई टिकाउने, जोगाउने र यसलाई सफल बनाउने । यो सरकारको माध्यमबाट देशमा सुशासन स्थापित गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र यो सरकारले देशको अर्थतन्त्र बलियो बनाउने र समृद्धिको बाटो तय गर्ने कुरामा वचनवद्धतासहित हाम्रो यहाँको प्रशिक्षण पनि समापन हुन्छ,’– मन्त्री पाण्डेले भने ।

बाहिर हल्ला आएजस्तो सत्तारुढ दलभित्र कुनै प्रकारको आशंका र असन्तुष्टि नरहेको उनले बताए । कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म नै अगाडि बढ्ने उनको दाबी छ । मन्त्री पाण्डेले आफू आवद्ध दल कांग्रेस सरकार निर्माणको बेलामा भएको सात बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको बताए ।

त्यस्तै, पार्टी महामन्त्री गगनकुमार थापाले छु्ट्टै गुट बनाएको कुरामा कुनै सत्यता नरहेको उनले बताए । आफू महामन्त्री थापासँग निरन्तर सम्पर्कमा रहेको उनले बताए । मन्त्री पाण्डेले सबै मिलेर पार्टीलाई आन्तररिक रुपमा बलियो बनाउने विषयमा गगन प्रतिवद्ध रहेको पनि सुनाए । सरकार सञ्चालन र पार्टी सञ्चालन दुवै विषयमा गगनसँग सल्लाह र परामर्श हुने गरेको उनले बताए ।

‘गगनजी पार्टीका महामन्त्री, धेरै मान्छेहरुले आशा भरोसा गरेको नेता पनि हो । उहाँसँग म निरन्तर सम्पर्कमा छु । सरकार सञ्चालनको विषयमा पनि सम्पर्कमा छु, मन्त्रालय सञ्चालनको विषयमा पनि सम्पर्कमा छु । पार्टीका कुराहरु महामन्त्रीसँग सहमहामन्त्रीले जति डिटेलमा कुराकानी गर्न पाउनुपर्थ्यो, त्यो नपाएको हुँला । तरपनि पार्टी सञ्चालन, सरकार सञ्चालनको विषयमा गगनजीसँग प्रगाढ सम्बन्ध छ । हामी सबै मिलेर पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउने, देशको राजनीतिमा सरकारका मध्यमबाट, सरकारले प्रभावकारी सेवा प्रदान गरेर समृद्धिको बाटोमा लाने, देशलाई पुनर्निर्माण गर्ने, अर्थतन्त्र चलायमान, रोजगारी चलायमान र देशलाई हराभरा बनाउने कुरामा सरकार लाग्नुपर्छ । यसमा सबै लाग्नुपर्छ,’– उनले भने ।

साथै, पार्टीमा १५औं महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुने उनको दाबी छ । पार्टी सभापति शेरबहादुर देउवा विधानको व्यवस्थाअनुसार नै महाधिवेशन गराउन तयार हुनुपर्ने उनले बताए । ‘पार्टीका महाधिवेशन हाम्रो क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यतालिका बनिसकेको छ । त्यो कार्यतालिका अनुसार नवीकरण र वितरण भइसकेपछि अधिवेशनको प्रक्रिया पनि अगाडि बढ्छ । २०८४ को चुनावअघि महाधिवेशन हुन्छ, त्यसमा दुविधा छैन । ठ्यक्कै महिना र गते सोध्नुभयो भने त्यो भन्न सक्दिनँ । तर, ०८४ को चुनावअघि महाधिवेशन हुन्छ । सभापतिज्यूकै नेतृत्वमा महाधिवेशन गर्ने हो,’– उनले भने ।