अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छः कांग्रेस नेता खड्का


काठमाडौं, २३ माघ । नेपाली कांग्रेसक नेता एवं पूर्वमन्त्री डा.नारायण खड्काले अध्यादेश अस्वीकृत भएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेश वा विधेयक अस्वीकृत भएको अवस्थामा सरकार नैतिक र राजीतिक संकटमा पर्ने बताएका हुन् । अहिले राष्ट्रिय सभामा सत्तारुढ दलको स्पष्ट बहुमत छैन । राष्ट्रिय सभामा बुहुमतको लागि जनता समाजवादी पार्टी नेपालसँग छलफल भइरहेको पनि नेता खड्काले बताए । जसपा नेपालले अध्यादेशको गुण र दोषका आधारमा समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि नेता खड्काले सुनाए ।

‘अध्यादेश अस्वीकृत भयो भने सरकार नैतिक संकटमा पर्छ । राजनीतिक संकट पनि उत्पन्न हुन्छ । सरकारले ल्याएको अध्यादेश वा विधेयक नै अस्वीकृत भयो भने पनि नैतिक संकट परेर राजीनामा गर्नुपर्ने अवस्था आउन सक्छ । राष्ट्रिय सभामा जसपा नेपालले यसको मेरिटको आधारमा हामी छलफल गर्छौ, गुण र दोषको आधारमा हामी छलफल गर्छौं भनेको छ,’– उनले भने ।

साथै, अहिलेकै अवस्थामा संविधान संशोधन सम्भव नदेखिएको उनले बताए । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिइनुपर्ने उनले बताए । अहिले पूर्व उपराष्ट्रपति र पूर्व राष्ट्रपति राजनीतिमा आउन खोज्नु सुहाउँदो कुरा नरहेको उनले बताए । त्यस्तै, जिल्ला समन्वयमा पनि आमुल परिवर्तनको खाँचो रहेको उनले बताए । ‘संविधान संशोधन त अहिले सम्भव देखिँदैन,’– उनले भने ।