अध्यादेशबाट देश चल्न हुँदैन, हामीलाई प्रधानमन्त्री नै दिएपनि अस्वीकार गर्छौंः मनिष सुमन (भिडिओसहित)


काठमाडौं, २३ माघ । जनता समाजवादी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले देश अध्यादेशबाट चल्न नहुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेशमार्फत शासन गर्ने कुरालाई लोकतान्त्रिक प्रक्रियाको सुदृढ रुपमा मान्न नसकिने बताएका हुन् । नेता सुमनले अध्यादेशलाई चोर बाटोको संज्ञा दिए ।

‘देश अध्यादेशबाट चल्न हुँदैन भन्ने हाम्रो मान्यता छ । हामी जे गर्छौं संसद्बाट गर्नुपर्छ । संसद्बाटै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अध्यादेशलाई चोर बाटो भन्न मिल्छ । कहिलेकाहीँ विशेष अवस्थामा अध्यादेश ल्याउन सकिने कुरा संविधानमा लेखिएको छ । त्यसको दुरुपयोग गर्न हुँदैन भन्नो हाम्रो मान्यता छ । यद्यपि अध्यादेश आइसक्यो, अहिले आएका अध्यादेशहरुलाई हामी अध्ययन गरिरहेका छौं । अध्ययन कार्यदल बनाएका छौं, म पनि त्यसमा सदस्य छु,’– उनले भने ।

जसपा नेपालले आफ्नो मूल्य मान्यतालाई सत्तासँग नसाट्ने उनको भनाइ छ । मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्री बन्नका लागि अध्यादेशलाई सही भनेर समर्थन गर्न नसकिने उनले बताए । जनताको अहितमा हुने कुरालाई प्रधानमन्त्री नै पाएपनि अस्वीकार गरिने उनले बताए । भूमिसम्बन्धी अध्यादेश र समाजिक सञ्जाल नियमन विधेयकको देशभर व्यापक विरोध भइसकेको नेता सुमनले बताए । आफूहरुले कार्यदल नै बनाएर अध्यादेश अध्ययन गरिरहेको उनले बताए ।

‘हामी मन्त्री बन्न, प्रदेश सरकारमा सहभागी हुन हामी आफ्नो मूल्य मान्यता साट्छौं भन्ने कुरा गलत हो । हामी जनताको हितमा कुनै कानुन छ भने स्वीकार गर्छौं । अहितमा छ भने प्रधानमन्त्री पाएपनि स्वीकार गर्दैनौं । सत्तासँग जनता समाजवादी पार्टीले आफ्नो नीति, सिद्धान्तलाई साट्दैन । सरकारलाई हामीले एकतर्फी समर्थन दिइरहेका छौं । सरकारले हाम्रो पनि समर्थन लिन्छ भन्ने कुरा हेक्का रहेन । सत्तामा हाम्रो सहभागिता छैन । मन्त्रिपरिषद्मा हाम्रो कोही सदस्य हुनुहुन्न । कुनै प्रदेशमा हाम्रो कुनै मन्त्री हुनुहुन्छ । हामी स्थिर सरकारको कल्पना भएपछि केपी ओली नेतृत्वको सरकारलाई हामीले समर्थन दिएको हो । केपी ओली, शेरबहादुर देउवाजीलाई याद छ कि छैन भन्ने कुरा हामीलाई शंका लाग्छ । यो अध्यादेशको बेलामा शेरबहादुर देउवा, केपी ओली दुवै पक्षबाट फोन आएको थियो । तपाईहरु पनि सत्ताधारी हो है, अध्यादेश ल्याएका छौं समर्थन गर्नुस् भनेर,’– उनले भने ।

साथै, उनले हिजोको दिनमा कांग्रेस–एमालेले जसपा नेपालले पनि सरकारलाई समर्थन गरेको छ भन्ने कुरा विर्सिएको बताए । अध्यादेश पारित गराउन राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक भएपछि कांग्रेस–एमालेले आफूहरुलाई महत्व दिइरहेको उनले सुनाए । आफूहरु अध्यादेशको विषयवस्तुमा गलतलाई गलत र सहीलाई सही भनेर अगाडि बढ्ने उनले बताए । ‘हिजोका दिनहरुमा कांग्रेस–एमालेलाई जसपा नेपाल पनि यो सरकारलाई समर्थन दिइरहेको एउटा पार्टी हो भन्ने बिर्सिनु भएको थियो । अहिले राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक भएपछि सबैलाई याद आएको हो । सरकारलाई समर्थन गर्दैमा सत्ताको सबैथोक स्वीकार गर्ने कुरा आउँदैन । हामी गलतलाई गलत भन्छौं, सहीलाई सही भन्छौं,’– उनले भने ।