कवाड संकलकलाई महानगर प्रहरीले तीन घण्टासम्म यातना दिएको कवाड व्यवसायी समाजका अध्यक्ष गुप्ताको आरोप


काठमाडौं, २३ माघ । कवाड व्यवसायी समाज नेपालका अध्यक्ष राम केवल गुप्ताले काठमाडौं महानगर प्रहरीले एक कवाड संकलकलाई नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाएका छन् । सर्लाही घर भई हाल काठमाडौं महानगरको अनामनगर क्षेत्रमा कवाड संकलन गर्दै आएका धिरेन्द्र यादब र कोटेश्वर क्षेत्रमा कवाड संकलन गर्ने अर्का एक व्यक्तीलाई महानगर प्रहरीले गुण्डागर्दी शैलीमा अपहरण गरी सुन्धारास्थित बागदरबार लगेर ३ घण्टासम्म राखेर यातना दिएको बताएका हुन् ।

साथै, कवाड संकलकको साईकल र समानसमेत जफत गरी अभद्र व्यवहार गरिएको उनको आरोप छ । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादती नरोकिए सशक्त आन्दोलनमा उत्रिने अध्यक्ष गुप्ताको चेतावनी छ । ‘महानगरको गुन्डागर्दी तत्काल नरोके काठमाडौं महानगरका विरुद्धमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम गर्ने र आफ्नो पेशा व्यवसायको संरक्षणको लागी जस्तोसुकै कदम चाल्न तयार रहेको कुरा अवगत गराउन चाहन्छौं,’– अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।