हामी कांग्रेस सुधार गर्न आएका हौं, त्यसै समय खेर फाल्न आएको होइन : उमेश श्रेष्ठ (भिडिओसहित)


काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सरकारले ल्याएका अध्यादेशले देशमा विकास र समृद्धिको आधार खडा गर्ने भन्दै सर्वसम्म्तले पारित गर्न आग्रह गरेका छन् । पोखरामा प्राइम टिभीका लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता श्रेष्ठले अध्यादेशले समृद्धिको वेभ (तरंग) पैदा गर्ने दाबी गरेका हुन् ।

उनले दुवै सदनबाट अध्यादेश पारित हुने दाबी गरे । उनले पोखारामा आयोजित प्रदेश सभापति र जिल्ला सभापतिहरुको भेलामा उत्साहजनक सहभागिता देखिएको बताए । भेलामा नेता शेखर कोइराला सहभागी नभएको विषयमा उनले घुमाउरो पारामा विरोध जनाए । उनले विस्तारै नेपाली कांग्रेस एक ढिक्का हुने विश्वास दिलाए ।

तर, पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा भने जारी रहने उनको भनाई छ । अहिले एमालेसँग सहकार्य गरेर सरकारमा गएको विषयमा उनले राजनीतिक स्थायित्व हुने विश्वास दिलाए । उनले युवाहरुलाई समेट्नेगरि कांग्रेसले कार्यक्रम ल्याउने जानकारी दिए । अहिले सरकारले ल्याएको अध्यादेशले देशमा लगानीको वातावरण बनेको उनको दाबी छ । उनले आफूहरु कांग्रेसलाई सुधार गर्नको लागि नै आएको भन्दै समय खेर फाल्न नदिने प्रतिबद्धता जनाए ।