काठमाडौं, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छ महिनाको अवधिमा सरकारले देखिने गरी कुनैपनि काम गर्न नसकेको टिप्पणी गरेका छन् । सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आज (बुधबार) रफत सञ्चार क्लबको १५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘अब सरकारमै बसिसकेपछि सरकारकै आलोचना त गर्न मिल्दैन मैले । तर, आलोचना गरिराख्न मन लाग्ने मान्छे, देखेको कुरा भनिहाल्ने हिसाबले यस पटक हामीले गरेको काम चाहीँ तपाईँहरुलाई भन्दाखेरी यो छ महिनाभित्र के काम गर्यो त सरकारले भन्दाखेरी देखिने गरेर यही काम गर्यो भन्ने त छैन हामीसँग,’– उनले भने ।
साथै, उनले निर्वाचन प्रणालीलाई दोष दिनु सोह्रै आना गलत रहेको बताए । ‘यो चाहीँ हामी निर्वाचन प्रणालीलाई दोष लगाएर निर्वाचन प्रणाली परिवर्तन गर्ने कुरा गर्ने, गाउँघरमा एउटा उखान छ– आफू नाच्न जान्दैन, मुखियाको आँगन टेढो भन्ने छ नि । हामीले आफू काम गर्न नजान्ने, काम नगर्ने, व्यवस्था र प्रणालीलाई दोष दिने कुरा सोह्रै आना गलत हो,’– उनले भने ।
वर्तमान सरकारले तीन वर्षभित्रका सम्पन्न गर्ने कुनैपनि राष्ट्रिय गौरवको आयोजनाहरु नरहेको उनले बताए । तीन वर्षमा सकिने भनेको योजनाहरु १३ वर्षसम्म पनि नसकिएको बताउँदै उनले राष्ट्रिय गौरवको आयोजना पनि भनिराख्ने र १५÷२० वर्षसम्म पनि सम्पन्न नगर्ने कुराले मुलुक समृद्ध हुन नसक्ने बताए । File Photo/RN




प्रतिक्रिया