काठमाडौं, २३ माघ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले अहिलेसम्म गरेको काम सन्तोषजनक रहेको बताएका छन् । आज (बुधबार) पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै उनले छ महिनाको अवधिमा सरकारले सन्तोषजनक काम गरेको र थप राम्रो काम गर्दै जानुपर्ने आफूहरुको निष्कर्ष रहेको उनले बताए । पोखरामा आयोजित कांग्रेस जिल्ला सभापतिहरुको भेलाले सरकारको बारेमा निकालेको निष्कर्ष सुनाउँदै उनले भने, ‘अहिलेसम्म गरेको काम सन्तोषजनक छ, थप राम्रो गर्दै जाने भन्ने निष्कर्ष हो ।’
साथै, मन्त्री लेखकले सरकार बन्ने बेलामा कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘यो गठबन्धन नेपाली कांग्रेस र एमालेको बीचमा भएको सहमतिअनुसार कार्यान्वयन हुन्छ ।’
त्यस्तै, वर्तमान सरकारले ल्याएको अध्यादेश राम्रो रहेको उनको दाबी छ । मन्त्री लेखकले सबै राजनीतिक दलको सहयोगमा अध्यादेश पारित हुने विश्वास व्यक्त गरे । जसपा नेपाललगायतका दलहरुले राष्ट्रिय सभामा पनि सहयोग गरेर अध्यादेश पारित गराउने उनको दाबी छ । ‘अध्यादेशमा राम्रो कुरा भएको हुनाले सबैले सहयोग गर्नुहुन्छ, पास हुन्छ । अध्यादेश राम्रो छ नि । राम्रो कुराको लागि त सबैले साथ दिइहाल्नुहून्छ नि,’– उनले भने । File Photo/RN




प्रतिक्रिया