काठमाडौं, २३ माघ । नेपाली कांग्रेसमा ‘गगन गुट’ बारे चर्चा चुलिएको छ । महामन्त्री गगनकुमार थापाले आफ्नै गुट खडा गरेर पार्टीको १५औं महाधिवेशनमा सभापति बन्न वार्मअप गरिरहेको उनीनिकट स्रोतको दाबी छ । स्रोतकाअनुसार गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत दरिलो साथ छ । शर्माकै जोडबलमा थापाले पार्टीभित्र नयाँ गुटको शुभारम्भ गरेको बताईन्छ । अहिलेसम्म विभिन्न गुटबाट प्रतिष्पर्धा गर्दै आएका थापाले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका थिए ।
शेखरले १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन् । गगन अहिले शेखरसँग टाढा छन् । गगनलाई हालका स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलको पनि दरिलो समर्थन रहेको छ । पार्टीको १५औं महाधिवेशनमा विश्वप्रकाशलाई उपसभापति र प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाएर आफू सभापतिमा प्रतिस्पर्धा गर्ने दाउमा गगन छन् ।
महामन्त्री थापा भने अहिले महाधिवेशनमा लाग्ने बेला नभइसकेको बताउँछन् । आज (बुधबार) पोखरामा पत्रकार ऋषि धमलासँग संवादको क्रममा उनले भने आफू अहिले पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउने कार्यमा लागिरहेको बताए । उनले महाधिवेशनमा अहिले नै लाग्ने बेला नभएको र उपयुक्त समयमा निर्णय लिइने बताए । ‘कांग्रेसको भावी सभापति तपाईँ हो ? उम्मेदवारी घोषण गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘गर्दिनँ । म अहिले नेपाली कांग्रेसको महामन्त्री छु । मेरो अहिलेको जिम्मेवारी भनेको १५औं महाधिवेशनसम्म पार्टीका सबै कुरा गरेर सफलतापूर्वक १५औं महाधिवेशन गराउने मेरो जिम्मेवारी हो । त्यो जिम्मेवारीमा मात्रै म फोकस छु । नेपाली कांग्रेसलाई अहिले अधिवेशन लाग्ने बेला भइसकेको छैन भन्ने म ठान्छु । उपयुक्त समयमा उपयुक्त कुरा गरौंला । अधिवेशनको उम्मेदवारीको बारेमा चर्चा गर्ने बेला आइसकेको छैन । म नेपाली कांग्रेसको कुनै गुट होईन, म सिङ्गो कांग्रेसको हुन चाहन्छु । त्यसका निम्ति मेरो प्रयास छ, मेरो प्रयास रहन्छ ।’ File Photo/RN




प्रतिक्रिया