जसपा नेपालले अध्यादेशको पक्षमा मत जाहेर गर्छः महेश बर्तौला


काठमाडौं, २३ माघ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशको पक्षमा मत जाहेर गर्ने बताएका छन् । आज (बुधबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले जसपा नेपाल पनि सत्तारुरढ दल भएको कारणले उसले सरकारले लिन निर्णयमा के गर्छ भनेर सोधिरहन आवस्यक नरहेको बताए । नेता बर्तौलाले सत्तारुढ दलका बीचमा कुनै असहमति र बेमेल नरहेको बताए । भोलि प्रतिनिधि सभाबाट अध्यादेश स्वीकृत हुने र त्यसमा जसपा नेपालको पनि समर्थन रहने उनको दाबी छ ।

‘सत्तापक्षमा रहेका सबै राजनीतिक पार्टीहरु सरकारले गरेको निर्णयको बारेमा, सरकारले लिने समर्थन र कार्यक्रमका बारेमा र सरकारले जारी गरेको अध्यादेश जुन गत १८ गते टेबल भएको छ । यसको पक्षमा उभिने बारेमा सरकार पक्षमा रहेको राजनीतिक दलमा कुनै बेमेल छैन । कुनै असहमति छैन, सबै दलहरु एक ठाउँमा छौं । प्रतिनिधि सभामा अध्यादेश भोलि पारित हुन्छ । राष्ट्रिय सभामा पनि कुर्नै समस्या छैन । सत्तारुढ दलहरुको बीचमा कुनै समस्या छैन । जसपा नेपालले के गर्छ भन्न मिल्दैन । सरकार पक्षमा रहेको राजनीतिक शक्तिले के गर्छ भन्ने कुरा सोधिरहन पर्ने हो र ? सरकारको पक्षमा मत जाहेर गर्छ । आफ्ना केही विषयहरु सम्बन्धित राजनीतिक पार्टीको हुनसक्छ । गठबन्धन सरकारमा फरक कुराहरु हुनुसक्छ । तर, आम रुपमा सरकारले लिने निर्णयमा सत्तारुढ दलहरुको साझा मत हुन्छ । एक ठाउँमा उभिन्छ,’– बर्तौलाले भने ।

अध्यादेश पारित गराउनका लागि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक छ । यही मौका पारेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले च्याँखेदाउ थापेको समेत चर्चा हुन थालेको छ । स्रोतका अनुसार उपेन्द्रले मधेशमा मुख्यमन्त्री र संघीय सरकारमा गृहमन्त्रीको शर्त अगाडि बढाएका छन् । File Photo/RN