काठमाडौं, २३ माघ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरुले नाराबाजी गरेका छन् । जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको उनको मुद्दामा बयान र थुनछेक बहस भएको थियो । थुनछेक बहस नसकिएपछि इजलासले उनलाई न्यायिक हिरासतमा उठाउने आदेश गरेको हो ।
लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोग छ । सहकारी ठगी प्रकरणमा लामिछाने यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट १ कारोड धरौटीमा छुटेका थिए । उनीविरुद्ध पर्सामा पनि सहकारी ठगीको मुद्दा छ ।
लामिछानेलाई अदालतले न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शनका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापालक्षित विभिन्न नाराबाजीसमेत गरेका थिए ।




प्रतिक्रिया